देउखुरी पब्लिक सेकेण्डरी स्कुलमा खेलकुद सप्ताह सुरु



देउखुरी पब्लिक सेकेण्डरी स्कुलमा खेलकुद सप्ताह सुरु

लमही १९ माघ । लमही नगरपालिका–६ देउपुरमा रहेको देउखुरी पब्लिक सेकेण्डरी स्कुलमा आइतबार देखि खेलकुद सप्ताह सुरू भएको छ ।

विद्यार्थीको सर्वाङ्गीण विकास, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्य सहित बृहत खेलकुद सप्ताह सुरू भएको हो । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कुबेर गिरीको अध्यक्षता एवम् विद्यालय सञ्चालन समितिका अध्यक्ष रतन कुमार केसीको प्रमुख आतिथ्यतामा खेलकुद सप्ताहको उदघाटन गरिएको हो। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि केसीले खेलकुदलाई जीवनसँग जोडेर व्याख्या गर्दै मानिस जन्मेदेखि नै खेलिरहेको बताए। सानै उमेरमा दाजुभाइ, दिदीबहिनीबीच हुने चतुर्याइँ र प्रतिस्पर्धा पनि खेलकै स्वरूप भएको उल्लेख गर्दै उनले विद्यालय जीवनमा साथीहरूसँग स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए। उनले विद्यालयस्तरमै सीमित नभई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी बन्ने लक्ष्यसहित खेलमा ध्यान दिन विद्यार्थीलाई आग्रह गरे।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केसीले आइतबार देखि लगातार ६ दिन सम्म विद्यालयस्तरीय खेलकुद कार्यक्रम भव्य रूपमा सञ्चालन हुने जानकारी दिए। खेलकुद सप्ताह अवधिभर विद्यार्थीले किताबभन्दा खेलमैदानमा समय बिताउने उल्लेख गर्दै उनले सबै विद्यार्थीलाई खेलमा सक्रिय सहभागिता जनाउन आग्रह गरे। विभिन्न खेल सञ्चालनका लागि शिक्षक तथा खेल प्रशिक्षकहरूलाई जिम्मेवारी दिइएको जनाउँदै प्रधानाध्यापक केसीले खेलकुदमा अनुशासन, सहकार्य र सकारात्मक सोच अत्यन्त आवश्यक रहेको बताए। हार–जितलाई स्वाभाविक प्रक्रिया मानेर हारबाट सिक्दै अघि बढ्न उनले विद्यार्थी खेलाडीलाई सुझाव दिए।

कार्यक्रम विद्यालयका भाइस क्याप्टेन निलम डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षिका तुलसी खत्री महराले गरेकी थिइन्। एक हप्तासम्म सञ्चालन हुने खेलकुद सप्ताहअन्तर्गत विभिन्न खेल विधाहरू समावेश गरिने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे