लमही महोत्सवको अनुगमन, मूल्यसुची राख्न र अखाद्य वस्तु बिक्री नगर्न सुझाव
लमही १८ माघ । लमहीमा सञ्चालन भइरहेको लमही महोत्सवको आज संयुक्त रूपमा अनुगमन गरिएको छ । लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखाको अग्रसरतामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुर, देउखुरी उद्योग वाणिज्य संघ लमही, लमही चेम्बर अफ कमर्स तथा लमही होटल व्यवसायी समितिको सहभागितामा गठित टोलीले महोत्सव स्थलको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा महोत्सवमा सञ्चालनमा रहेका व्यवसायीहरूले बिक्री गरिरहेका खाद्य वस्तुहरूमा अखाद्य पदार्थ मिसाइएको छ कि छैन, मूल्य निर्धारण गरिएको छ कि छैन तथा उपभोक्ताको हित विपरीत गतिविधि भएका छन् कि छैनन् भन्ने विषयमा निरीक्षण गरिएको लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख शिवराज न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार अनुगमनका क्रममा खाद्य वस्तुमा अखाद्य पदार्थ मिसाइएको जस्ता गम्भीर समस्या भने फेला परेन । तर अधिकांश पसलहरूले उपभोक्ताले सजिलै देख्ने गरी मूल्य सूची नराखेको पाइएको उनले बताए । अनुगमन टोलीले सम्बन्धित व्यवसायीहरूलाई तत्काल स्पष्ट रूपमा मूल्य सूची राख्न र उपभोक्तालाई ठगी नहुने गरी सेवा प्रदान गर्न निर्देशन दिएको छ । साथै आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने र नियम विपरीत कार्य गर्ने व्यवसायीमाथि आवश्यक कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
अनुगमनपछि उपभोक्ताहरूलाई निर्धारण गरिएको मूल्य अनुसार मात्र सेवा लिन तथा कुनै किसिमको अनियमितता देखिएमा लमही नगरपालिकामा जानकारी गराउन आग्रह गरिएको छ ।

