प्रेस चौतारीद्धारा क्षेत्र नं. १ मा एमालेका उम्मेदवार शर्मालाई विजय गराउन चुनावी प्रचार रणनीति तयार



प्रेस चौतारीद्धारा क्षेत्र नं. १ मा एमालेका उम्मेदवार शर्मालाई विजय गराउन चुनावी प्रचार रणनीति तयार

लमही १६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेकपा एमाले दाङ क्षेत्र नं. १ मा प्रचार भेला सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल दाङको आयोजनामा सम्पन्न उक्त भेलाले निर्वाचनलाई लक्षित गर्दै सञ्चार तथा प्रचार रणनीति तय गरेको हो ।

भेला लमही नगर अध्यक्ष किशन भट्टराईको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य एवं प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि शर्माले लोकतान्त्रिक अभ्यासमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै तथ्यमा आधारित, सकारात्मक र जनमुखी प्रचारमार्फत निर्वाचनमा पार्टीलाई बलियो बनाउने आवश्यकता औँल्याउनुभयो । उहाँले पार्टीका नीति, कार्यक्रम र उपलब्धिलाई जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन सञ्चारकर्मीहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।

भेलामा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश इञ्चार्ज टिकाबहादुर बस्नेत, नेकपा एमाले क्षेत्र नं. १ का संयोजक सहजराम यादव, जिल्ला प्रचार विभाग प्रमुख सङ्गीत बस्याल, प्रेस चौतारी नेपाल दाङका जिल्ला अध्यक्ष सुधासुमन ढकाल, लमही नगर अध्यक्ष रतनकुमार केसी, जिल्ला सदस्य पुष्पराज अधिकारी, प्रेम केसी, नगर सचिव पवन शर्मा रिजाल लगायत प्रेस चौतारीमा आबद्ध सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । भेलामा आगामी निर्वाचन सम्म सञ्चालन गरिने प्रचार अभियान, सञ्चार रणनीति, सन्देश प्रवाहको प्रभावकारिता तथा पत्रकारहरूको भूमिकाबारे विभिन्न सुझाव र धारणा प्रस्तुत गरिएको थियो । सहभागीहरूले समन्वयात्मक ढंगले अघि बढ्दै निर्वाचन प्रचारलाई व्यवस्थित, सशक्त र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे