देउखुरीमा रोपिएको विकासको फूल हुर्काउने समय आयो, त्यसैका लागि मेरो उम्मेदवारी हो : सोनाम



देउखुरीमा रोपिएको विकासको फूल हुर्काउने समय आयो, त्यसैका लागि मेरो उम्मेदवारी हो : सोनाम

भालुवाङ १६ माघ । दाङ क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसी (सोनाम) ले देउखुरीको दीर्घकालीन विकास, पहिचान र समृद्धिको अधुरो सपना पूरा गर्न आफूले उम्मेदवारी दिएको स्पष्ट पारेका छन् । साविक नेकपा (माओवादी केन्द्र) ले शुक्रबार दाङको लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देउखुरीमा विगतमा रोपिएको विकासको बीउ अब हुर्काउने समय आएको उल्लेख गर्दै त्यसको जिम्मेवारी लिन आफू चुनावी मैदानमा उत्रिएको बताए ।

केसीले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउन जनताले देखाएको त्याग, संघर्ष र सहयोगलाई स्मरण गर्दै अब राजधानीअनुकूल समग्र विकासको आवश्यकता रहेको बताए । “राजधानी सार्ने बेला देउखुरीबासीले जुन साथ, सहयोग र बलिदान दिए, त्यसकै निरन्तरता स्वरूप अब राजधानीलाई व्यवस्थित र विकसित बनाउने काम अधुरो छ,” उनले भने, “त्यसै अधुरो सपना पूरा गर्न मैले पार्टीको घेराबन्दीभन्दा माथि उठेर स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।”

उनले देउखुरीको विकासका लागि आफूले विगतदेखि नै अथक मेहनत र निरन्तर समर्पण गर्दै आएको दाबी गरे । “देउखुरीको पहिचान, विकास र समृद्धिका लागि मैले गरेको योगदान यहाँका आम नागरिकलाई थाहा छ,” उनले भने, “यो भूमि मेरो कर्मभूमि हो, यहाँको भविष्य मेरो दायित्व हो ।”

दल भन्दा माथि उठेर देउखुरीको समग्र विकासको अठोट

स्वतन्त्र उम्मेदवार केसीले दलगत स्वार्थ, विचार र राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर देउखुरीको समग्र विकास र समृद्धिको परिकल्पना आफूले गरेको बताए । उनले ‘आँप’ चुनाव चिन्ह लिएर नागरिकको घरदैलोमा पुग्ने तयारी समेत गरिसकेको जानकारी दिए । “राजनीति जनताको सेवा गर्ने माध्यम हो, पद र पहुँचका लागि होइन,” उनले भने, “म कुनै दलको होइन, देउखुरीबासीको उम्मेदवार हुँ । त्यसैले मेरो अभियान पनि जनताको घरआँगनमै केन्द्रित हुनेछ ।”

उनका अनुसार देउखुरी आज विकासका धेरै सम्भावना बोकेको क्षेत्र भए पनि उचित योजना, दृढ नेतृत्व र इमानदार प्रतिनिधित्वको अभावमा पछि परेको छ । “सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीका क्षेत्रमा देउखुरीले छलाङ मार्न सक्छ,” उनले थपे, “तर त्यसका लागि निष्ठावान् र जवाफदेही नेतृत्व आवश्यक छ ।”

राजधानी बनेपछि पनि विकास किन सुस्त ?

पत्रकार सम्मेलनमा केसीले राजधानी घोषणा भइसकेपछि पनि देउखुरीले अपेक्षित विकासको गति लिन नसकेकोप्रति चिन्ता व्यक्त गरे । उनले भने, “राजधानी त बन्यो, तर राजधानीजस्तो पूर्वाधार, सेवा र सुविधा अझै आउन सकेका छैनन् ।”

उनका अनुसार सरकारी कार्यालयहरूको व्यवस्थित स्थानान्तरण, सडक सञ्जालको स्तरोन्नति, खानेपानी, ढल व्यवस्थापन, आवास र रोजगारी सिर्जनामा ध्यान दिन नसक्दा जनतामा निराशा बढ्दै गएको छ । “अब देउखुरीलाई कागजमा मात्र राजधानी बनाएर हुँदैन, व्यवहारमा पनि राजधानीजस्तो बनाउनुपर्छ,” उनले जोड दिए ।

जनताको मत विकासमा बदल्ने प्रतिबद्धता

स्वतन्त्र उम्मेदवार केसीले आफूलाई प्राप्त हुने प्रत्येक मतलाई सेवा, सुशासन र विकासमा रूपान्तरण गर्ने अठोट व्यक्त गरे । “तपाईंहरूले दिएको मत मेरो शक्ति हुनेछ, त्यो शक्ति म व्यक्तिगत स्वार्थका लागि होइन, देउखुरीको विकासका लागि प्रयोग गर्नेछु,” उनले मतदातालाई अपिल गर्दै भने ।

उनले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गुणस्तरीय विद्यालय, अस्पताल र प्राविधिक शिक्षामा जोड दिने योजना सुनाए । साथै कृषि क्षेत्रमा आधुनिक प्रविधि भित्र्याई किसानको आयस्तर बढाउने, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र देउखुरीलाई पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्वतन्त्र उम्मेदवारीप्रति जनताको बढ्दो आकर्षण

पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मी र नागरिकहरूले स्वतन्त्र उम्मेदवारीप्रति पछिल्लो समय जनताको आकर्षण बढ्दै गएको धारणा व्यक्त गरेका थिए । उनीहरूले दलगत राजनीति भन्दा परिणाममुखी र जवाफदेही प्रतिनिधि चाहिएको आवाज देउखुरीमा बलियो बन्दै गएको बताए ।

केसीले पनि यही भावना बुझेर आफू चुनावी प्रतिस्पर्धामा आएको बताए । “जनताले अब भाषण होइन, काम खोजिरहेका छन्,” उनले भने, “म त्यो विश्वासलाई कामबाट प्रमाणित गर्न चाहन्छु ।”

देउखुरीको भविष्य बदल्ने संकल्प

उम्मेदवार केसीले देउखुरीलाई सुशासन, समृद्धि र अवसरले भरिएको क्षेत्र बनाउने आफ्नो संकल्प दोहोर्‍याए । “यो मेरो व्यक्तिगत लडाइँ होइन, देउखुरीको भविष्य निर्माणको अभियान हो,” उनले भने, “देउखुरीमा रोपिएको विकासको फूल हुर्काउने समय आएको छ, त्यसका लागि तपाईंहरूको साथ, समर्थन र मत आवश्यक छ ।” उनले सबै मतदातालाई लोकतान्त्रिक अधिकार प्रयोग गर्दै विकास र समृद्धिको पक्षमा मतदान गर्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे