गुरुकुल एकेडेमी लमहीको दोस्रो वार्षिक उत्सव तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न
लमही १६ माघ । दाङ-देउखुरीकाे लमही नगरपालिका-६, देउपुरमा रहेकाे गुरुकुल एकेडेमी लमहीको दोस्रो वार्षिकउत्सव तथा अभिभावक भेला विविध शैक्षिक, सांस्कृतिक तथा रचनात्मक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीको सर्वाङ्गीण विकास, गुणस्तरीय शिक्षा र नैतिक मूल्यको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।
विद्यालयका कार्यकारी अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले शिक्षामा लगानी गर्नु भनेको भविष्यमा लगानी गर्नु सरह भएको उल्लेख गर्दै गुरुकुल एकेडेमीले ग्रामीण क्षेत्रमा गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा गरे । उनले विद्यालयले अनुशासन, संस्कार र आधुनिक शिक्षालाई एकसाथ अघि बढाएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका सभाअध्यक्ष तथा विद्यालयका कार्यकारी अध्यक्ष कमलजंग सिंह ठकुरीले गुरुकुल एकेडेमी लमही स्थापना भएको छोटो समयमै विश्वासिलो शैक्षिक संस्थाका रूपमा स्थापित हुन सफल भएको बताए । उनले अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीको सामूहिक प्रयासकै कारण विद्यालयले निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै आगामी दिनमा भौतिक संरचना, शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापलाई अझ सुदृढ बनाइने प्रतिबद्धता जनाए ।
वार्षिकउत्सव कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीपराज भण्डारी, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उप–प्रमुख लक्ष्मी योगी, लमही नगरपालिकाका शिक्षा शाखा अधिकृत अम्बिका शर्मा तथा विद्यालयका मार्केटिङ अफिसर सुदाम्स जिसीले मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले गुरुकुल एकेडेमीले शिक्षा क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै विद्यार्थीमा सिर्जनशीलता, आत्मविश्वास र नैतिक मूल्य विकासमा विद्यालयले दिएको योगदान उल्लेख गरेका थिए ।
कार्यक्रमको सुरुवात गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक विशाल शाहुको स्वागत मन्तव्यबाट गरिएको थियो। स्वागत मन्तव्यमा प्रधानाध्यापक शाहुले विद्यालयको शैक्षिक यात्रा, उपलब्धि र भावी योजनाबारे प्रकाश पार्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, अभिभावक तथा शिक्षकप्रति आभार व्यक्त गरेका थिए । वार्षिकउत्सव कार्यक्रमको सहजीकरण विद्यालयका विद्यार्थीहरू कृतिका गिरी र रीतिका थारुले गरेकी थिइन् ।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत, नाटक तथा अन्य सांस्कृतिक प्रस्तुतिले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। समग्रमा, गुरुकुल एकेडेमी लमहीको दोस्रो वार्षिकउत्सव विद्यालयको उपलब्धी, शैक्षिक प्रतिबद्धता र भविष्यप्रतिको आशाको प्रतिबिम्बका रूपमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

