लमही महोत्सवको आठौं दिन : पशुपति शर्मा, विमता घर्ती मगर र शोभा त्रिपाठीको प्रस्तुती



लमही महोत्सवको आठौं दिन : पशुपति शर्मा, विमता घर्ती मगर र शोभा त्रिपाठीको प्रस्तुती

लमही १५ माघ । दाङको लमहीमा सञ्चालन भइरहेको तेस्रो देउखुरी कृषि, पर्यटन तथा व्यापारिक लमही महोत्सवको मंगलवार आठौं दिन पनि दर्शकहरु राष्ट्रिय स्तरका कलाकारहरु सँग भरपुर्ण मनोरञ्जन लिएका छन् ।

स्वरोजगार आत्मनिर्भरता हाम्रा अधार, शहर देखि गाउँ सम्म व्यवसाय विस्तार भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्सको आयोजनामा गत माघ ७ गते देखि दाङको लमहीमा सञ्चालित लमही महोत्सव २०८२ को आठौं दिन बहुचर्चित गायक पशुपति शर्मा, गायिका विमता घर्ती मगर र गायिका तथा उद्घोषिका शोभा त्रिपाठीले दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिएका छन् । लमही महोत्सवमा चर्चित लोकगायक पशुपति शर्माको सशक्त प्रस्तुतीले महोत्सव स्थल उत्साहपूर्ण बनेको छ ।

गायक शर्माले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई नचाएका हुन् । कार्यक्रमको सुरुवातमै शर्माले चर्चित लोकदोहोरी तथा सामाजिक सन्देशमूलक गीतहरू गाएपछि दर्शकहरू झुम्मिएर नाच्न थालेका थिए । “लुट्न सके लुट”, “झोले”, “बोल माया”, “जाल्मा” लगायतका चर्चित गीतमा दर्शकहरू ताली बजाउँदै नाच्दै रमाएका थिए । महोत्सव स्थल युवायुवती देखि वृद्धवृद्धाहरू रमाएको देखिन्थ्यो । गायक शर्माले गीत–संगीत मनोरञ्जनका साथै समाजमा रहेका विकृति, विसङ्गति र राजनीतिक चेतनाबारे पनि सन्देश दिएका छन् । उनले लोकसंगीत हाम्रो पहिचान भएको उल्लेख गर्दै यस्ता महोत्सवहरूले नेपाली मौलिक कला संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

त्यस्तै कार्यक्रममा गायिका विमता घर्ती मगर, गायिका तथा उद्घोषिका शोभा त्रिपाठीले पनि विभिन्न गीत मार्फत दर्शकहरुलाई नचाएका थिए । भने डान्सरहरू सुस्मिता कोइराला, रूवी विक लगायतका स्थानीय कलाकारहरूले पनि भरपूर्ण मनोरञ्जन दिएका थिए ।

यसै गरी महोत्सवमा माघ १६ गते चर्चित गायक रमेशराज भट्टराई, गायिका एञ्जिला रेग्मी, थारु गायक राजेन्द्र चौधरी लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । भने उद्घोषकको भुमिकामा अनुप बुढा र दिपक बर्मा रहने छन् । भने स्थानीय कलाकारहरु डान्सरहरू सुस्मिता कोइराला, रूवी विकको टिमले पनि मनोरञ्जन दिने आयोजकले बताएको छ । बढ्दो चोरी तथा दुर्घटनालाई मध्ये नजर गरि लमही बजारका विभिन्न क्षेत्रमा सिसि क्यामरा जडान गर्ने, पर्यापर्यटन क्षेत्रको प्रवद्र्धन र कला सँस्कृतिको संरक्षण सँगै कृषि तथा उद्यम क्षेत्रको विकास गर्ने उद्देश्यका साथ महोत्सव सञ्चालन गरिएको छ ।

महोत्सवमा २०० स्टल रहेका छन् । जस मध्ये ५० वटा कृषि उपजलाई छुट्याइएको छ । करिव ३ लाख दर्शकले अवलोकन गर्ने, करिव ३ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ८० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे