चुनाव नजिकिँदै जाँदा खाने तेलको मूल्यमा अस्वाभाविक वृद्धि, पेटीमै १५० रुपैयाँले बढ्यो
भालुबाङ १३ माघ । देशमा चुनावको माहोल तातिँदै गएको बेला बजारमा महँगीले उपभोक्तालाई थप मारमा पारेको छ। विशेषगरी अत्यावश्यक वस्तु मानिने खाने तेलको मूल्य पछिल्लो समय अस्वाभाविक रूपमा बढेको छ। बजारमा खाने तेलको मूल्य पेटीमै १५० रुपैयाँसम्म वृद्धि भएको पाइएको छ।
व्यापारीहरूले आपूर्ति अभाव को कारण देखाउँदै मूल्य बढाएको बताएका छन् । तर उपभोक्ताहरूले भने सरकारी निकायको कमजोर अनुगमन र स्पष्ट नीतिगत कठिबद्धता नहुनु नै मूल्यवृद्धिको मुख्य कारण भएको गुनासो गरेका छन्।
खाद्य व्यवस्था तथा व्यापार विभागले बजार अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा व्यापारीहरू मनपरी मूल्य असुल्न सक्रिय भएको उपभोक्ता अधिकारकर्मीहरूको आरोप छ। विभागले समयमै हस्तक्षेप नगरे आगामी दिनमा खाने तेल मात्र नभई अन्य दैनिक उपभोग्य वस्तुहरूको मूल्यसमेत बढ्ने जोखिम रहेको देखिन्छ।
विशेषज्ञहरूका अनुसार चुनावको समय नजिकिँदै जाँदा बजारमा कालोबजारी र कृत्रिम अभाव सिर्जना हुने सम्भावना उच्च हुन्छ। यसतर्फ सरकार र सम्बन्धित निकाय समयमै सचेत नहुँदा आम नागरिकको जीवनयापन झन् कष्टकर बन्ने देखिएको छ।

