लमही महोत्सवमा बेत बाँसका सामग्री र कृषिजन्य उत्पादनको आकर्षण
लमही १२ माघ । लमहीमा सञ्चालन भइरहेको तेस्रो देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सवमा स्थानीय उत्पादनले दर्शक तथा उपभोक्ताको ध्यान खिच्न सफल भएको छ । लमही चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको महोत्सवमा बेत, बाँस, काठका सामग्री देखि तरकारीका बेर्ना र फलफूलका बिरुवा सम्म बिक्री तथा प्रदर्शनीमा राखिएका छन् ।

महोत्सवमा बेत र बाँसबाट बनाइएका चुर्केस, मुडा, टोकरी, हेङ्गर, झुलुङ्गा तथा जुत्ताचप्पल राख्ने ¥याकजस्ता सामग्री उपभोक्ताको रोजाइमा परेका छन् । बेतका सामग्री बिक्री गर्दै आएका बमबहादुर चौधरीका अनुसार एक दिनमै दश हजार रुपैयाँ सम्मको कारोबार हुने गरेको छ । “हाम्रा सामग्री वातावरणमैत्री, कीरा नलाग्ने र दीगो भएकाले उपभोक्ताले मन पराएका छन्,” उनले भने । लमही क्षेत्रमा २०४९/५० साल देखि बेत–बाँसको वन विस्तार हुँदै आएको छ ।

महोत्सवमा सामाजिक सञ्जालमा लोकप्रिय बन्दै गएका उपहार सामग्री ‘बुके’ पनि बिक्रीमा राखिएको छ । लमहीकी गंगा राना र अमृता रानाले मिलेर तयार पारेका बुकेहरूले राम्रो बजार पाएको छ । “खाली बस्नुभन्दा सिपको प्रयोग गरेर आम्दानी लिन सकिने रहेछ,” अमृताले भनिन्, “अब यसलाई व्यवसायिक रूपमा विस्तार गर्ने योजना छ ।” यसै गरी न्यू लालीगुराँस नर्सरीले तरकारीका बेर्ना र फलफूलका तयारी बिरुवाहरू बिक्रीका लागि राखेको छ । किसानहरूको सहजताका लागि गुणस्तरीय बिरुवाहरू उपलब्ध गराइएको नर्सरी सञ्चालक राधा भुसालले जानकारी दिइन् । लमही चेम्बर अफ कमर्सका अध्यक्ष किरण बुढाथोकीले महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकताका साथ स्थान दिइएको बताउँदै यसले स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्नुका साथै आत्मनिर्भर अर्थतन्त्रतर्फ टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।


