लमही महोत्सवको छैठौं दिन : एलिना चाैहानले कट्टा हान्दिन्छु भन्दा माहोल तातियो
लमही १२ माघ । चर्चित गायिका एलिना चौहानले ‘कट्टा हान्दिन्छु’ भन्ने चर्चित गीतको प्रस्तुति दिँदै दर्शकलाई झुमाउँदा लमही महोत्सवको माहोल पूर्ण रूपमा तातिएको छ। हजारौं दर्शकको उपस्थितिमा भएको उनको ऊर्जाशील, प्रस्तुतीले लमही महोत्सवलाई अविस्मरणीय बनाएको छ।
स्वरोजगार आत्मनिर्भरता हाम्रा अधार, शहर देखि गाउँ सम्म व्यवसाय विस्तार भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्सको आयोजनामा गत माघ ७ गते देखि दाङको लमहीमा सञ्चालित तेस्रो देउखुरी कृषि पर्यटन तथा व्यवसायीक लमही महोत्सव २०८२ को छैठौं दिन सोमबार साँझ एलिना चौहानको आगमनले दर्शकहरूको भीड बाक्लिँदै गएको थियो । चौहान स्टेजमा प्रवेश गरेसँगै दर्शकहरूले ताली, हुटिङ मार्फत स्वागत गरे । उनका लोकप्रिय गीतहरूको प्रतीक्षामा रहेका दर्शकहरूको उत्साह कार्यक्रमभरि झल्किरहेको थियो। कार्यक्रमको सुरुवातमै चाैहानले धोकेबाज गीतबाट सुरू गर्दै क्रमश चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाइन्। त्यसपछि जब उनले पछिल्लो समय अत्यधिक चर्चामा रहेको गीत ‘कट्टा हान्दिन्छु’ प्रस्तुत गरिन्, महोत्सव स्थल झनै तातियो। गीत सुरु हुनासाथ दर्शकहरू उफ्रिन थाले र एलिनासँगै गीत गुनगुनाए। महोत्सव स्थल केही समयका लागि सङ्गीत, नृत्य र उत्साहले भरिएको देखिन्थ्यो।
‘कट्टा हान्दिन्छु’ गीतको प्रस्तुती क्रममा एलिनाको गायन, स्टेज प्रस्तुती र दर्शकसँगको क्रेजले सबैको ध्यान खिच्यो। गीतको बोलसँगै दर्शकहरू रमाइलो शैलीमा नाच्दै मनोरञ्जन लिइरहेका थिए। गीतले युवापुस्तामाझ छुट्टै क्रेज बनाएको देखिन्थ्यो। एलिनाले उक्त गीतसँगै ‘माया गर्छु भन्न मन लाग्छ’, ‘तिम्रो माया’, ‘भेट्न आउँछु’ लगायत आफ्ना अन्य लोकप्रिय गीतहरू पनि प्रस्तुत गरिन्। उनले एकपछि आर्को रमाइला र नाच्ने गीतमा भने महोत्सव स्थल पूरै गुन्जायमान बनेको थियो। स्थानीय कला, संस्कृति, व्यापार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको लमही महोत्सवमा एलिना चौहानको प्रस्तुती मुख्य आकर्षणका रूपमा रहेको आयोजक समितिले जनाएको छ। आयोजकका अनुसार एलिनाको आगमनले दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले महोत्सवको रौनक बढाएको छ। महोत्सवमा एलिनाको प्रस्तुती सँगै गायिका रिता केसीले आफ्ना थुप्रै प्रस्तुति मार्फत दर्शकहरूले मनोरञ्जन दिएकी थिइन् भने मोडेल तथा डान्सर टीका जैशी, गायक तथा उदघोषक अनुप बुढा, उद्घोषक हरि थापा, डान्सरहरू सुस्मिता कोइराला, रूवी विक लगायतका स्थानीय कलाकारहरूले पनि भरपूर्ण मनोरञ्जन दिएका थिए ।
महोत्सवमा २०० स्टल रहेका छन् । जस मध्ये ५० वटा कृषि उपजलाई छुट्याइएको छ । करिव ३ लाख दर्शकले अवलोकन गर्ने, करिव ३ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवले स्थानीय उत्पादित वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने लक्ष्य राखिएको छ । महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकको दावी रहेको छ । महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन गरिएको छ । महोत्सव अवधिभर चर्के पिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहेका छन् । महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ८० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधीभर ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ ।

