संघर्षले खारिएकी नेतृ दिल कुमारी विक
दाङ १२ माघ । संघर्षशील जीवनको अर्को नाम हो दिल कुमारी विक । विद्यालयमा अध्ययनरत रहँदै सानै उमेरमा दाङ जिल्लाको दंगीशरण गाउँपालिका–३, चितानपुरमा उनको मागी विवाह भयो । जीवनको सुरुवातमै जिम्मेवारी, अभाव र चुनौतीको भारी बोकेर अघि बढ्नु परेकी दिल कुमारी विक आज सीमान्तकृत समुदायकी आशा, भरोसा र नेतृत्वको प्रतीक बनेकी छिन् ।
साविक पुरन्धारा गाविसको छिटापुर गाउँमा जन्मेकी दिल कुमारी दाङको शान्तिनगर गाउँपालिका–४, भलानिटीमा हुर्किइन् । हाल उनी दंगीशरण गाउँपालिका–३, चितानपुरमा बसोबास गर्छन् । उनको परिवारमा श्रीमान्, सासु, छोरा, छोरी र उनी गरी पाँच जना सदस्य छन् । छोरी कविता विक स्नातक चौथो वर्षमा अध्ययनरत छिन् भने छोरा कपिल विक कक्षा ९ मा अध्ययनरत छन् । उनका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।
दिल कुमारीको विवाह भएको घरको आर्थिक अवस्था कमजोर थियो । घरखर्च चलाउन मजदुरी गर्नुपर्ने अवस्था थियो । मजदुरीकै क्रममा समाजमा व्याप्त हेपाइ, शोषण र दमनलाई उहाँले नजिकबाट भोगिन् । अन्याय सहन नसक्ने स्वभावकी दिल कुमारीले जहाँ अन्याय देखिन्, त्यहीँ आवाज उठाइन् । यही हक्की स्वभावका कारण कतिपयले “नेतेनी बन्न खोजेकी” भनेर गिज्याए पनि त्यस्ता टिप्पणीले उनी कहिल्यै विचलित भएनिन् ।
क्रमशः उनमा सामाजिक र राजनीतिक चेतना बढ्दै गयो । पारिवारिक रोकछेक र बाधा–अड्चनलाई चिर्दै समूह, संगठन, राजनीति र सामाजिक संस्थामा सक्रिय हुन थालिन् । महिला सञ्जालमा आबद्ध भएपछि दंगीशरण महिला सञ्जालको अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु उनको जीवनको पहिलो महत्वपूर्ण उपलब्धि बन्यो । यही जिम्मेवारीले उनलाई घरको चुलो–चौकाबाट समाजको अगुवाइतर्फ डो¥यायो ।
महिला सञ्जालको नेतृत्व गर्दै उनले सामुदायिक भवन निर्माण, सिलाइ–कटाइ तालिम सञ्चालन, महिलाका लागि अन्तरजिल्ला अवलोकन भ्रमणजस्ता कार्यक्रमहरू सफलतापूर्वक अघि बढाइन् । यसले महिलाको सीप, आत्मविश्वास र चेतनामा सकारात्मक परिवर्तन ल्यायो । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी दंगीशरण गाउँपालिका–३ बाट दलित महिला सदस्य पदमा भारी मतका साथ निर्वाचित भइन् र कार्यपालिका सदस्यको जिम्मेवारी पनि सम्हालिन्। उनको कार्यकालमा गाउँ–टोलका बाटाहरू खुले, स्तरोन्नति भए र सामुदायिक भवनहरू निर्माण भए । चितानपुरमा सामुदायिक भवन निर्माणको नेतृत्वले बैठक, तालिम तथा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहज बनायो, जसले महिला, युवा र बालबालिकाको क्षमता विकासमा ठूलो टेवा पु¥यायो ।
दिल कुमारी विकको परिचय केवल जनप्रतिनिधिको मात्र होइन, परोपकारी र जनमुखी अभियन्ताको पनि हो । तालिमको खाजाको रकम बचाएर विपन्न महिलालाई भेडाको पाठो किनिदिनु, दलित र गरिब बस्तीका पीडालाई आफ्नै पीडा ठानी सहयोग गर्नु उनको मानवीय स्वभाव हो । यिनै कार्यहरूले समाजमा उहाँप्रति सम्मान र विश्वास बढ्दै गयो ।
हाल उनी समृद्ध समाज दाङकी संस्थापक अध्यक्ष छिन् र दोस्रो कार्यकालमा पनि अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छिन् । यस संस्थामा दंगीशरण गाउँपालिकाका सात वडाका ७१ समूह र १,३८४ सदस्य आबद्ध छन् । संस्थाका कार्यक्रमबाट झण्डै सात हजार व्यक्तिहरू लाभान्वित भएका छन् ।
दिल कुमारी विकको नेतृत्वमा रहेको समृद्ध समाज दंगीशरण दाङको कार्यालय भवन निर्माण कार्य हाल सञ्चालनमा छ । समृद्ध समाजले बस्तीस्तरबाट १४ लाख रुपैयाँ सहयोग संकलन गरी वडा नम्बर ५ मा ३४ धुर जग्गा रजिष्ट्रेशन पास गरेको छ । उक्त भवन निर्माणका लागि सहकर्मी समाज कोहलपुरबाट १४ लाख र दंगीशरण गाउँपालिका तथा विभिन्न वडाबाट १० लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भई निर्माण कार्य अगाडि बढिरहेको छ । संस्थाको स्रोत वृद्धिका लागि, रैथाने उत्पादन, प्रशोधन र वितरणमा युवाहरूलाई प्रोत्साहन गर्न तथा श्रमको सम्मान र स्वरोजगारप्रति चेतना जगाउन संस्थाले विगत तीन वर्षदेखि मेला–महोत्सवमा रैथाने खाजाका स्टल सञ्चालन गर्दै सामूहिक स्रोत वृद्धिको अभ्यास गर्दै आएको छ ।
दिल कुमारी विक नेकपा दंगीशरण गाउँपालिकाको तत्कालीन गाउँ कमिटी उपाध्यक्ष, नेपाल दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश सदस्य, समुदायमा आधारित कार्यसञ्जाल संस्था महासंघको केन्द्रीय उपाध्यक्ष लगायत विभिन्न जिम्मेवारीहरू निर्वाह गर्दै आएकी छिन् ।
घरायसी काम, पशुपालन, तरकारी खेतीसँगै सामाजिक नेतृत्व सम्हाल्नु उनको दैनिकी हो । निरन्तर संघर्ष र मेहनतका कारण परिवारको आर्थिक अवस्था क्रमशः सुधार हुँदै गएको छ । सन्तानको शैक्षिक अवस्था सुदृढ बन्दै गएको छ र उनको नेतृत्व अझ परिपक्व हुँदै गएको छ । समृद्ध समाजले १६ जना असहाय, अपाङ्ग, टुहुरा तथा विपन्न छोरीहरूलाई कक्षा १२ सम्म अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । यसको नेतृत्व दिल कुमारी विकले गरिरहेकी छिन् । जोखिममा रहेका छोरी–चेलीहरूलाई साथ र हात दिने कार्यमा भक्तपुरस्थित सामाजिक अभियन्ता आदरणीय योगी कायस्थको पहलमा सहयोग जुटेको थियो । यसले १६ जना छात्राको जीवनमा आशाको उज्यालो थपिएको छ । सहकर्मी समाजसँगको साझेदारीमा ‘कोसेली’ कार्यक्रम सञ्चालन गरी समृद्ध समाजले सयौँ विपन्न परिवारको जीविकोपार्जन सुधार, युवाका लागि रोजगारी सिर्जना र समुदाय रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याइसकेको छ ।
छुवाछुत तथा भेदभावरहित समाज निर्माण, महिला स्वास्थ्य, शिक्षा, दीगो जीविकोपार्जन, कृषि प्रवद्र्धन र युवा चेतनाका क्षेत्रमा दिल कुमारी विक र उनको संस्थागत टोली अहोरात्र खटिरहेकी छिन् । धेरै पढेर होइन, धेरै परेर खारिएकी दिल कुमारी विक आज सीमान्तकृत समुदायको सशक्त आवाज बनेकी छिन् । आफू जलेर समाजलाई उज्यालो दिने, संघर्षबाट उठेकी र परिवर्तनको सपना बोकेकी दंगीशरण दाङकी एक प्रेरणादायी महिला नेतृ छिन् दिल कुमारी विक । समाज परिवर्तनप्रतिको सपना, निरन्तर संघर्ष र सफल जीवन यात्राका लागि उनलाई धेरै–धेरै शुभकामना ।
– पुनाराम पन्थी, कपिलवस्तु

