लालमटिया महोत्सव सकियो, अर्थतन्त्रलाई बलियाे बनाउन महाेत्सव आवश्यक छ : सभामुख घर्ती
भालुवाङ ११ माघ । दाङको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा गत पुस २५ गते देखि सञ्चालित महोत्सव आइतबार एक समारोहका समापन गरिएको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा सञ्चालित ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२ समापन गरिएको हो ।
संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा भएको महोत्सव समापन कार्यक्रम बोल्दै सभामुख घर्तीले अर्थतन्त्रलाई चलाइमान बनाउन महोत्सव उपलब्धिमुलक रहेको बताए । समामुख घर्तीले देउखुरी क्षेत्र कृषि क्षेत्र भएकोले पनि कृषिलाई अर्थ सँग जोडेर लाग्नुपर्ने बताए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमशेर अलि मिया लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव बासुदेव न्याैपानेले गरेका थिए । आइतबार महोत्सवको अन्तिम दिन चर्चित गायक रमेशराज भट्टराई, गायक कमल बिसी माइला दाइ, गायिका विमता घर्ती मगर, गायिका तथा उदघोषिका शोभा त्रिपाठी लगायतका कलाकारहरूले भरपूर्ण मनोरञ्जन दिएका थिए ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका देउखुरी भित्र रहेका अपार सम्भावना बोकेका र अवसरको खोजीमा रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धधनमा थप टेवा पुग्ने, कला संस्कृतिको संरक्षण सँगै स्थानीय स्तरमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने र संकलित रकमले कार्यालय भवन सहित अन्य संरचना निमार्ण तथा मर्मत गर्ने उदेश्य रहेको थियो । महोत्सवमा विभिन्न १ सय ५९ स्टलहरु रहेका थिए । जसमा करिव २० वटा कृषि तथा उद्यम विकासका स्टल राखिएको थियो । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुती राखेका थिए भने महोत्सवमा चर्के पिङ, बाल उद्यान लगायतका मनोरञ्जन रहेका छन् । भने स्टलमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन गरिएको थियो ।
महोत्सवको उद्घाटनका दिन प्रदर्शन गरिएको विभिन्न जातजाति तथा कला संस्कृति झल्कने २७ वटा झाकी मध्ये समाज सुधार युवा क्लव राप्ती-२ कठाहा प्रथम, नेपाल मगर संघ हस्तकला राप्ती-१ भालुवाङ द्वितीय र नेपाल कुमाल समाज दाङ तृतीय भएका छन् । उत्कृष्ट झाँकीहरूलाई क्रमश नगद १० हजार, ७ हजार, ५ हजार र सान्त्वना स्वरुप ३–३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने गरिएको थियोे । साथै महोत्सवमा मुख्य प्रयोजक, सहप्रयोजक, प्रायोजक, विभिन्न संघसंस्था र सञ्चारकर्मीहरूलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैया, विद्यार्थीका लागि ८० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगता भएका नागरिकहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो ।

