हरियाली सहकारीको २० औं वार्षिकोत्सव : १ दर्जन बढी सदस्य सम्मानित, १६ जनाले गरे रक्तदान



हरियाली सहकारीको २० औं वार्षिकोत्सव : १ दर्जन बढी सदस्य सम्मानित, १६ जनाले गरे रक्तदान

सिसहनियाँ ६ माघ । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्थाले मंगलवार विभिन्न कार्यक्रम गरि २० औँ वार्षिकोत्सव मनाएको छ ।

संस्थाले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रुपैयाँ बराबरको ग्यास, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ । त्यस्तै नेपाल रेडक्रस सोसाइटी उपशाखा लमहीको सहकार्यमा बृहत रक्तदान कार्यक्रम गरेको थियो जसमा १६ जनाले रक्तदान गरेका थिए । भने कार्यक्रममा एक दर्जन भन्दा बढी उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता, ज्येष्ठ सदस्य तथा उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको छ । संस्थाका अध्यक्ष रेशम बहादुर थापाको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष विष्टले सहकारी संस्थाहरू उपभोगमुखी गतिविधि भन्दा उत्पादनमूलक कार्यमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

अध्यक्ष विष्टले सहकारीका सदस्यहरूलाई कृषि, पशुपालन, तरकारी खेती तथा अन्य उत्पादनशील क्षेत्रमा सक्रिय हुन आग्रह गरे । सहकारी मार्फत यस्ता क्षेत्रमा लगानी विस्तार गर्न सके स्थानीय अर्थतन्त्र मजबुत बन्ने उनको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले हरियाली सहकारी संस्थालाई देउखुरी क्षेत्रकै अब्बल सहकारी संस्था मध्ये एक भएको उल्लेख गरे । उनले संस्थाले पारदर्शिता, अनुशासन र सदस्य मुखी सेवा प्रवाहमा उदाहरणीय काम गर्दै आएको बताए । साथै उनले केही सहकारी संस्थाहरूमा देखिने आर्थिक अनियमितता प्रति चिन्ता व्यक्त गर्दै शेयर सदस्यहरू सचेत र चनाखो हुनुपर्नेमा जोड दिए । सहकारीको वास्तविक मालिक सदस्य स्वयं भएकाले संस्थाको गतिविधि, आर्थिक कारोबार तथा निर्णय प्रक्रियामा सक्रिय निगरानी आवश्यक रहेको उनको भनाइ थियो ।

लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलले सहकारीको दिगो विकासका लागि सुशासन, प्रविधि र उत्पादनमूलक लगानी अपरिहार्य रहेको बताए । उनले सहकारीलाई विश्वासयोग्य र उत्तरदायी संस्थाका रूपमा विकास गर्न सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे संस्थाका अध्यक्ष रेशम बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष शिवध्वज मल्ल, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका व्यवस्थापक उमेश चौधरीले संस्थाको आर्थिक तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष निमबहादुर रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव राधा पाण्डेले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे