एमाले दाङले ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदै



एमाले दाङले ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदै

दाङ ६ माघ । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले दाङले आज जिल्लाका तीनै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउने भएको छ।

निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीका महासचिव शंकर पोख्रेलले आज दिउँसो १ बजे घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ। उम्मेदवारी दर्ताअघि साढे ११ बजे घोराहीको ट्राफिक चोकमा भेला भई बाजागाजा सहित र्याली निकालेर मुख्य बजार परिक्रमा गर्ने कार्यक्रम तय भएको पार्टी उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ मा केन्द्रीय लेखा आयोगका सदस्य रेवतिरमण शर्माले अपराह्न ४ बजे निर्वाचन अधिकृतको कार्यालय लमहीमा उम्मेदवारी दर्ता गराउनुहुने तालिका रहेको छ। निर्वाचन क्षेत्र नम्बर ३ मा भने पार्टीका केन्द्रीय सदस्य घनश्याम पाण्डेले दिउँसो १ बजे तुलसीपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ।

उम्मेदवारी दर्ताअघि नेकपा एमालेले घोराही, लमही र तुलसीपुरमा विशाल र्यालीसहित बजार परिक्रमा गर्ने कार्यक्रम तय गरेको छ। कार्यक्रममा पार्टी नेता–कार्यकर्ता तथा सर्वसाधारणलाई सहभागी हुन उपाध्यक्ष बुढाथोकीले अपिल गर्नुभएको छ। उहाँका अनुसार राष्ट्रियता, गणतन्त्र र संघीयता जोगाउन तथा अराजकताको अन्त्य गर्न यो निर्वाचन महत्वपूर्ण रहेको छ।

यसैबीच नेकपा एमालेका महासचिव शंकर पोख्रेलले यो निर्वाचन सामान्य निर्वाचन नभई जनमत संग्रहको रूपमा रहेको बताएका छन् । उनले हिंसाको विरुद्ध शान्ति, अराजकताको विरुद्ध अनुशासन, विध्वंसको विरुद्ध निर्माणको छनोट तथा संविधान र लोकतन्त्रका पक्षमा प्रतिगमनविरुद्धको जनमत संग्रह भएको उल्लेख गरे । साथै, नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षड्यन्त्रलाई परास्त गर्ने संकल्प गर्न उनले आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे