दाङका ३ वटै क्षेत्रमा ६२ जनाको मनोनयन दर्ता, क्षेत्र नम्वर १ मा मात्रै १४ जनाको उम्मेदवारी दर्ता
भालुवाङ ६ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ सहित देशभर मंगलवार उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
सोही अनुरुप जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा शान्तिपुर्ण रुपमा मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जानकारी दिएको छ । कार्यालयका अनुसार ३ वटै निर्वाचन क्षेत्रमा विभिन्न राजनितिक दल र स्वतन्त्रले शान्तिपुर्ण तरिकाले आफनो उम्मेदवारी दर्ता गराएका छन् । दाङका ३ निर्वाचन क्षेत्रमा ६२ जनाको उम्मेदवारी परेको छ । दाङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार १९ स्वतन्त्र सहित ६२ जनाको उम्मेदवारी परेको हो ।
दाङ निर्वाचन क्षेत्र नं. १ मा दुई स्वतन्त्र सहित १४ जना, निर्वाचन क्षेत्र नं. २ मा ८ स्वतन्त्र सहित २३ जना र निर्वाचन क्षेत्र नं. ३ मा ९ स्वतन्त्र सहित २५ जनाको मनोनयन दर्ता भएको छ । जस अनुसार निर्वाचन क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसबाट योगेन्द्र चौधरी, नेकपा एमालेबाट रेवतीरमण शर्मा घिमिरे, नेपाली कम्युनिष्ट पार्टीबाट मेटमणी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक, राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष गणेश आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय विसी, मंगोल नेशनल अग्रनाइजेसनबाट खुमबहादुर गाहामगर, आम जनता पार्टी (एकल चुनाव चिन्ह)बाट सिताराम यादव, नेशनल रिपब्लिक नेपालबाट मिनबहादुर ठेडीमगर, राष्ट्रिय परिवर्तन पार्टीबाट रञ्जित चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट प्रकाश शाही, जनता समाजवादी पार्टी नेपालबाट भरतलाल चौधरी र स्वतन्त्रबाट लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी, मालिकराम यादव लगाएतले उमेदवारी दिनुभएको छ ।
त्यसै गरी क्षेत्र नम्बर २ मा कांग्रेसबाट किरणकिशोर घिमिरे, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट निर्मल आचार्य, रास्वपा पार्टीका सहमहामन्त्री विपिन आचार्य, राष्ट्रिय जनमोर्चाबाट मणीराम खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ऋषिकेस पोख्रेल, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट प्रतिक अधिकारी, मंगोल नेशनल अर्गनाईजेसनबाट अम्मर बहादुर बुढामगर लगायत विभिन्न दल र स्वतन्त्र गरी २३ जनाले उमेदवारी दिनु भएको छ ।
निर्वाचन क्षेत्र नम्वर ३ मा मात्रै विभिन्न राजनितिक दल र स्वतन्त्र गरी २५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका सहायक निर्वाचन अधिकृत टिका कुमारी रोकाले जानकारी दिनुभयो । जसमा नेपाली कांग्रेसको तर्फबाट निवर्तमान सांसद दिपक गिरी, नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिका निवर्तमान मेयर घनश्याम पाण्डे, नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर मास्की , रास्वपाबाट कमल सुवेदी, राष्ट्रिय जनमोर्चाबाट कमला जिसी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट बलबहादुर वली, श्रम संस्कृति पार्टीबाट टोपबहादुर महतरा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दामोदर भण्डारी, नेश्नल रिपब्लीक नेपालबाट प्रितम चौधरी, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट घनश्याम डाँगी, मंगोल नेशलन अर्गनाईजेसनबाट घनश्याम चौधरी, आम जनता पार्टीबाट पाण्डवी नेपाली, नागरिक उन्मुक्ति पाटीबाट महेश चौधरी, संयुक्त नागरिक पार्टीबाट बलविर कामी र मितेरी पार्टी नेपालबाट सन्तोष सिंहले उमेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
यस्तै स्वतन्त्रबाट गोपाल वली, भरत परियार, यम बहादुर बस्नेत, सुरेस नेपाली, ईन्द्र बहादुर बस्नेत, प्रेम बहादुर वली, भागीराम चौधरी, सप्रिक कडेल र महेस डाँगीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता मंगलवार विहान १० बजे देखी बेलुकी ५ बजे सम्म समय निर्धारण गरिएको थियो ।

