देउखुरीको राप्तीमा पहिलो पटक सरकारीस्तरबाट डायलाइसिस सेवा सञ्चालनको पहल
सिसहनियाँ २६ असार । दाङको राप्ती गाउँपालिका–५, कालापानीस्थित राप्ती आधारभूत अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्ने उद्देश्यका साथ आवश्यक तयारी र पहल अघि बढाइएको छ।

देउखुरी क्षेत्रमा पहिलो पटक सरकारीस्तरबाट डायलाइसिस सेवा विस्तार गर्ने लक्ष्यसहित राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा शुक्रबार लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा पुगेर आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि औपचारिक माग गरिएको हो। बढ्दो मिर्गौला रोगका बिरामी, डायलाइसिस सेवाको माग र उपचारका लागि टाढा–टाढासम्म धाउनुपर्ने स्थानीय नागरिकको समस्यालाई मध्यनजर गर्दै संघीय सरकारबाट प्रदेश सरकारलाई प्राप्त हुने डायलाइसिस मेसिनमध्ये केही मेसिन राप्ती आधारभूत अस्पतालका लागि उपलब्ध गराउन आग्रह गरिएको छ।

छलफलका क्रममा अध्यक्ष प्रकाश विष्टले देउखुरी क्षेत्रका बिरामीहरूलाई उपचारका लागि बुटवल, नेपालगञ्ज तथा अन्य सहरसम्म जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै राप्ती आधारभूत अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्न सके यश क्षेत्रका बिरामीहरु प्रत्यक्ष लाभान्वित हुने बताए । उनले स्थानीय सरकारले आवश्यक समन्वय, पूर्वाधार व्यवस्थापन र सेवा सञ्चालनका लागि पूर्ण प्रतिबद्धता जनाएको उल्लेख गर्दै प्रदेश सरकारलाई आवश्यक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराई सहयोग गर्न आग्रह गरे ।

छलफलमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले राप्ती आधारभूत अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको बताए । स्थानीय सरकार तथा नागरिकस्तरबाट सेवा विस्तारका लागि देखिएको सक्रियता र चासोप्रति खुशी व्यक्त गर्दै उनले आवश्यक प्रक्रिया अघि बढाइने विश्वास दिलाए । छलफलमा राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, सचिव श्रीधर कडेल, सदस्य बिदुर एमसी तथा राप्ती गाउँपालिकाका प्रेस संयोजक तुलबहादुर कँवर मगरलगायतको सहभागिता रहेको थियो।
