नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको वार्षिक साधारणसभा तथा हीरक जयन्ती उत्सव सम्पन्न
बुटवल ४ माघ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले प्रविधिमा आएको तीव्र परिवर्तनलाई नेपालले समयमै आत्मसाथ गर्न नसक्दा मुलुक आर्थिक रूपमा पछि परिरहेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशको वार्षिक साधारण सभा तथा हीरक जयन्ती उत्सवको शनिबार उद्घाटन गर्दै उनले विश्व परिवेशमा देखिएको आर्थिक तथा राजनीतिक परिवर्तनले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको उल्लेख गर्दै विकास त भएको छ तर सन्तोषजनक नभएको स्पष्ट पार्नुभयो । “दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल नगरेसम्म नेपाल धनी मुलुक बन्न सक्दैन,” उनले भने, “योजनाले लक्ष्य गरे अनुसारको उपलब्धि हासिल हुन नसकेको यथार्थ स्वीकार गर्नुपर्छ ।” उपाध्यक्ष श्रेष्ठका अनुसार १६ औँ योजनाले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको भए पनि राजनीतिक अस्थिरता र कर्मचारीतन्त्रको अस्थिरताका कारण उक्त लक्ष्य हासिल गर्न चुनौतीपूर्ण छ । “बारम्बार कर्मचारी परिवर्तन हुँदा कसरी क्षमता वृद्धि हुन्छ ?” भन्दै उनले नीति र योजनालाई निरन्तरता दिने सकारात्मक सोच विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
सरकार र निजी क्षेत्रबिचको दूरीप्रति चिन्ता व्यक्त गर्दै उनले दुवै क्षेत्र एक–अर्कालाई नबुझ्ने अवस्था विद्यमान रहेको बताए । “सरकार र निजी क्षेत्र एउटै डुंगाका यात्री हुन्,” उनले भने, “सहकार्य नगरी लक्ष्य हासिल हुन सक्दैन ।” स्वदेशी वस्तुको उपभोगले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ठूलो योगदान पुग्ने उल्लेख गर्दै कृषि, उद्योग र व्यापारमा प्रविधिको प्रयोग अपरिहार्य भइसकेको उनको धारणा थियो ।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिपक मलहोत्राले निजी क्षेत्रमैत्री नीति, स्थिर सरकार र लगानीमैत्री वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्ने बताए । नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले प्रदेशको औद्योगिक विकासका लागि पूर्वाधार, ऊर्जा र नीतिगत स्थायित्व आवश्यक रहेको उल्लेख गरे । त्यसैगरी नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले चेम्बरले निजी क्षेत्रको आवाज बुलन्द गर्दै सरकारसँग समन्वय गरेर आर्थिक विकासमा योगदान दिँदै आएको बताए ।
कार्यक्रम जिल्ला तथा नगर र पालिका स्तरका चेम्बरहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । चेम्बरका वरिष्ठ उपाध्यक्ष श्रीधर महराको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महासचिव शिव ज्ञवालीले गरेका थिए । कार्यक्रममा व्यवसायी, उद्योगी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

