देउखुरीको राप्ती-४, मौरीघाटमा इनाेभेटिभ फिटनेस एण्ड जिम सेन्टरको उद्घाटन
भालुवाङ २ माघ । दाङको राप्ती गाउँपालिका–४, मौरीघाटमा इनाेभेटिभ फिटनेस एण्ड जिम सेन्टर सञ्चालनमा आएको छ।
स्थानीय व्यवसायी खगेन्द्र चौधरीद्वारा सञ्चालनमा ल्याइएको जिम सेन्टरको शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले स्वस्थ शरीर बिना समृद्ध समाज निर्माण सम्भव नहुने उल्लेख गर्दै युवाहरूलाई नियमित व्यायाम र खेलकुदप्रति आकर्षित गर्न यस्ता फिटनेस सेन्टरहरू महत्वपूर्ण हुने बताए। उनले निजी क्षेत्रको लगानीमा स्थापना भएका यस्ता संरचनाले स्थानीय युवालाई स्वास्थ्यप्रति सचेत बनाउने र सकारात्मक गतिविधितर्फ अग्रसर गराउने विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता प्रकाश शाहीले युवाहरूलाई कुलत र नकारात्मक प्रवृत्तिबाट टाढा राख्न खेलकुद र फिटनेस गतिविधि प्रभावकारी माध्यम हुने बताए । उनले स्थानीय स्तरमै आधुनिक सुविधा सहितको जिम सञ्चालनमा आउनु खुशीको विषय भएको उल्लेख गर्दै यस्ता पहललाई सबैले साथ दिनुपर्ने धारणा राखे। जिम सेन्टरका सञ्चालक खगेन्द्र चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वडा नं. ४ का वडा सदस्य विष्णु पोख्रेल, समाजसेवी दोर्ण जिसी, चैतन्य पाठशालाका प्रबन्ध निर्देशक जिवराज आचार्य, प्रधानाध्यापक सुष्मा रेग्मी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
अस्मिता चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिउ कुमार चाैधरीले गरेका थिए । नयाँ जिम सेन्टर सञ्चालनमा आए सँगै साे क्षेत्रका युवाहरूलाई स्वास्थ्य, तन्दुरुस्ती र शारीरिक विकासमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ।

