दर्शक झुक्काउँदै लालमटिया महोत्सव, नआउने कलाकारको प्रचार गरी टिकट बिक्री
भालुवाङ २८ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा सञ्चालित महोत्सवमा आयोजकले दर्शक झुक्काउँदै नआउने कलाकारको नाम बेचेर टिकट बिक्री गरेको पाइएको छ ।
राप्ती उद्योग वाणिज्य संघले आयोजना गरेको सातौँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा गत पुस २६ गते आउन नसकेकी गायिका शान्तिश्री परियार पुस २९ गते पनि नआउने निश्चित भएको छ । गत पुस २६ गते दैनिक कलाकारको पोष्टरमा चर्चित लोकदोहोरी गायिका परियार आउने भनेर व्यापक प्रचार–प्रसार गरियो, यति मात्र होइन स्वय गायिका परियारले आफू २६ गते लालमटिया महोत्सवमा आउने भनेर सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरेकी थिइन्, तर त्यो दिन मौसम खराबीका कारण आफू महोत्सवमा आउन नसकेको कार्यक्रमका उद्घोषक राजेश भण्डारीले प्रत्यक्ष टेलिफोन संवाद मार्फत दर्शकहरूलाई जानकारी गराईएको थियो ।
सोही संवादमा गायिका परियारले महोत्सवमा आउन नसकेपछि माफी माग्दै आफू २६ गतेको साटो पुस २९ गते लालमटिया महोत्सवमा आउने भनेर दर्शक माझ जानकारी पनि गराएकी थिइन् । तर पुस २९ गते पनि बहुचर्चित लोकदोहोरी गायिका परियार लालमटिया महोत्सव नआउने निश्चित छ । किनकी आयोजकले सोमवार नै पुस २९ गते आउने कलाकारहरूको पोष्टर सार्वजनिक गरेको छ । जसमा गायिका परियारको नामानिसान छैन । यसरी आयोजकले दर्शक झुक्काउन थालेपछि महोत्सवमा दर्शकहरुको सहभागिता पनि शुन्य जस्तै देखिन्छ । समयमा आयोजक सचेत नभए महोत्सव घाटामा जाने निश्चित देखिन्छ ।

