लालमटिया महोत्सवमा बधिया भाले बन्यो दर्शकको रोजाइ



लालमटिया महोत्सवमा बधिया भाले बन्यो दर्शकको रोजाइ

भालुवाङ २८ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा सञ्चालित सातौँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा राखिएको बधिया भालेले आगन्तुकहरूको ध्यान तानेको छ ।

महोत्सव अवलोकनका लागि आएका दर्शकहरूको रोजाइमा अहिले बधिया भाले नै पहिलो प्राथमिकतामा परेको छ । दाङ देउखुरीको पहिचान बदिया भाले सँग पनि जोडिएको छ । मासुका पारखीहरुले बदिया भालेलाई रोजाइमा पार्ने गरेका छन् । थारु समुदायमा परम्परागतरुपमा भालेलाई बदिया बनाउने चलन छ । अहिले व्यावसायिक रुपमा बधिया पालन गर्ने क्रम शुरु भएको छ । आकारमा ठूलो, तन्दुरुस्त र आकर्षक देखिने बधिया भाले हेर्नका लागि दर्शकहरू स्टल वरिपरि भीड लाग्ने गरेको छ । धेरैले तस्बिर खिच्ने, जानकारी लिने तथा मूल्य सोध्ने गरेका छन् । स्थानीय कृषकले परम्परागत तरिकाले पालेको बधिया भाले स्वादिष्ट मासु, स्वास्थ्यकर उत्पादन र उच्च मूल्यका कारण उपभोक्ताको आकर्षण बनेको प्रशिद्धि एग्रो एण्ड प्रोसेसिङ प्रालिका सञ्चालक बताउँछन् । बधिया भाले किन्न चाहानेलाई प्रति गोटा २ हजार ५ सयका दरले बिक्री समेत गर्ने गरिएको छ ।

महोत्सवमा कृषि तथा पशुपालन सम्बन्धी स्थानीय उत्पादनलाई प्राथमिकता दिइएकाले बधिया भालेले ग्रामीण अर्थतन्त्र र आत्मनिर्भर कृषिको सन्देश दिएको आयोजकको भनाइ छ । यसले स्थानीय किसानलाई व्यावसायिक पशुपालनतर्फ प्रेरित गर्ने विश्वास पनि लिइएको छ । व्यापार, पर्यटन र कृषि प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सवमा बधिया भालेजस्ता मौलिक तथा स्थानीय उत्पादनले आगन्तुकको ध्यान तान्नुले महोत्सवको आकर्षण थप बढाएको सहभागीहरूको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे