लालमटिया महोत्सवमा कृष्ण रेउले र अनु रानामगरको प्रस्तुती : स्टेजमै नाचे कलाकार र अतिथि
भालुवाङ २७ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा सञ्चालित सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको तेस्रो दिन आइतबार चर्चित गायक कृष्ण रेउले र गायिका अनु राना मगरले दर्शकहरुलाइृ भरपूर्ण मनोरञ्जन दिएका छन् ।

गायक रेउले गित गाउन जति माहिर छन्, हाँसोमा समेत भाइरल बनेका छन् । उनी जहाँ जहाँको महोत्सवमा जान्छन् । आफ्नो सांगीतिक प्रस्तुति सँगै सञ्चालक, अतिथि र दर्शकलाई पेट मिचिमिचि हसाँउने गरेका छन् । उनको हाँसोमा हाँसो थप्ने मान्छे कमै मात्र होलान् । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आयोजना गरेको महोत्सवमा गायक रेउलेले थुप्रै गीत मार्फत दर्शक र अतिथिहरुलाई नचाउन सफल भए । उनले आज गाउँमा बिजुली चम्क्यो, झार्मे लगायतका गित मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए । त्यसैगरी लोक दोहोरी गायिका अनु राना मगरले पनि दर्शकहरुलाई खुबै नचाएकी थिइन् । उनले नौतुनाको रेल पुग्यो बम्बई, छम्मछ्मी नाच्ने हो आदि गीत गाएकी थिइन् । भने एलिसा डान्स ग्रुप सहित स्थानीय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुति दिएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

यसै बीच महोत्सवको चौथो दिन पुस २८ गते सोमबार गायक बसन्त लम्साल, गायिका सम्झना रनपाल लगायतका कलाकारहरू आउन लागेका छन् । गत पुस २५ गते बाट सुरू भएको महोत्सवमा गायक लम्साल र रनपाल आउन लागेको आयोजकले जानकारी दिएको छ । उनीहरु सँगै महोत्सवमा गायक तथा उद्घोषक राजेश भण्डारी सँगै एलिसा डान्स ग्रुपको पनि प्रस्तुति रहने आयोजकले बताएको छ ।

