लालमटिया महोत्सवमा स्थानीय कच्चापदार्थबाट उत्पादित साबुन र धुप ग्राहकको रोजाई बन्दै
भालुवाङ २६ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा सञ्चालन भइरहेको सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा स्थानीय कच्चापदार्थबाट उत्पादित साबुन र धुपले आगन्तुकको ध्यान खिचेको छ । प्राकृतिक सामग्रीको प्रयोग, सस्तो मूल्य र सुगन्धित गुणका कारण यी उत्पादन महोत्सवमा आएका दर्शक तथा ग्राहकको रोजाइमा परेका छन् ।
राप्ती उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा राप्ती गाउँपालिका–८ पिपरीका ६ जना स्थानीय महिला दिदीबहिनीहरूको सामूहिक प्रयासमा स्थापना गरिएको लालीगुराँस साबुन तथा धुप उद्योगले आफ्ना उत्पादन बिक्रीका लागि राखेको हो । गाउँघरमै सहज रूपमा पाइने कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरिएको साबुन र धुपले स्थानीय उद्यमशीलताको राम्रो उदाहरण प्रस्तुत गरेको छ । उद्योगकी सञ्चालिका मायाकुमारी चौधरीका अनुसार महिलाहरू मिलेर गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले उद्योग सुरु गरिएको हो । “हामीले बाहिरबाट कच्चा पदार्थ ल्याउनु पर्दैन, घरवरपर पाइने निम, तितेपाती, मेवा, सयपत्री फूलजस्ता सामग्री प्रयोग गरेर साबुन र धुप उत्पादन गर्दै आएका छौँ,” उनले भनिन् । उद्योगले नुहाउने साबुन, डल्ले साबुन, कपडा धुने झोल साबुन, हार्पिन तथा बाटेको धुप उत्पादन गर्दै आएको छ । विशेष गरी निमबाट तयार गरिएको साबुनले छालामा हुने घाउ–खटिरा, घमौरा जस्ता समस्या कम गर्न सहयोग गर्ने बताइएको छ । त्यसैगरी अनुहारलाई चम्किलो बनाउने उद्देश्यले मेवाबाट बनेको साबुन र दुर्गन्ध हटाउन तितेपातीबाट तयार गरिएको साबुन पनि बजारमा ल्याइएको छ ।
कपडा तथा भाँडा धुन प्रयोग हुने झोल साबुन पनि उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ । रासायनिक पदार्थ कम प्रयोग गरिएकाले स्वास्थ्य र वातावरणमैत्री भएको ग्राहकहरूको प्रतिक्रिया छ । त्यस्तै सयपत्री फूल र कपुर मिसाएर तयार पारिएको सुगन्धित बाटेको धुप स्थानीय बजारसँगै प्युठानको स्वर्गद्वारी तथा काठमाडौँसम्म माग हुने गरेको सञ्चालिका चौधरीले जानकारी दिइन् । बजारमा पाइने आयातित तथा रासायनिक साबुन र धुपको तुलनामा यी उत्पादन सस्तो, प्राकृतिक र सुगन्धित भएकाले माग बढ्दै गएको उद्योगको भनाइ छ । महोत्सवमा स्टल राखिएपछि दैनिक बिक्रीमा वृद्धि भएको र ग्राहकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको चौधरीले बताइन् । स्थानीय कच्चापदार्थको प्रयोग, महिलाको सामूहिक सहभागिता र आत्मनिर्भर अर्थतन्त्र तर्फको कदमका रूपमा यस उद्योगलाई हेरिएको छ । महोत्सवले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने अवसर प्रदान गरेको र यसले महिला उद्यमशीलतालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । प्राकृतिक उत्पादनप्रतिको बढ्दो आकर्षणसँगै लालीगुराँस साबुन तथा धुप उद्योगले स्थानीय स्तरमै राम्रो सम्भावना बोकेको देखिन्छ ।

