दाङमा ‘सुर्या भाइ’को रक्त समन्वय अभियान



दाङमा ‘सुर्या भाइ’को रक्त समन्वय अभियान

भालुवाङ २६ पुस । राप्ती गाउँपालिका–१ भालुवाङ घर भएका सूर्यकिरण केसी(सूर्या भाइ) विभिन्न संघसंस्थामा आबद्ध भई लामो समयदेखि विद्यार्थी र बिरामीलाई रगत सहयोग गर्दै आएका छन् ।

अहिले सम्म एक हजार बढि व्यक्तिलाइ रगत व्यवस्थापनमा सहयोग पुगेको उनले बताए । रक्त व्यवस्थापनमा उनको यात्रा सन् २०१५ तिर सुरु भएको हो । ‘मेन्स रुम रिलोडेड’ नामक सामाजिक सञ्जाल समूहमा बारम्बार आउने रगत अभावसम्बन्धी सूचनाले उनलाई सोच्न बाध्य बनायो । ‘मबाट पनि केही गर्न सकिन्छ कि’ भन्ने भावनाले उनी रक्त समन्वय कार्यमा सक्रिय भए । सुरुका दिनमा चितवनमा एकान्त प्रेमी र रक्तसञ्चार सेवामा कार्यरत टोलीको सहयोगमा रगत मिलाउन सहज भयो । बुटवलमा भरत जंग क्षेत्री, काठमाडौमा कुनाल मिश्र, प्युठानमा जीवन खनाल र मनु लामा लगायतसँग समन्वय गर्दै जहाँबाट रक्तको माग आउँछ, त्यही अनुसार व्यवस्थापन गर्न थालियो ।

प्रायः सुत्केरी महिला र दुर्घटनाका गम्भीर अवस्थामा परेका बिरामीका लागि उनीहरूको सक्रिय भूमिका रहँदै आएको छ । पछिल्ला केही वर्षयता दाङमै पनि रगत व्यवस्थापन अझ सहज बन्दै गएको छ । तुलसीपुरमा बसन्त गिरी, घोराहीमा नरेन्द्र पुन, कुलराज पोखरेल, आदित्य, कौसधन र दारी ग्याङ दाङ लगायतका समूहसँग जोडिँदै ठूलो सञ्जाल विस्तार भएको छ । विभिन्न समूह संवादमार्फत आपतकालीन अवस्थामा छिटो रक्त उपलब्ध गराउने कार्य भइरहेको छ । भालुवाङमै अस्पताल सञ्चालनमा आएपछि अवस्था थप सहज बनेको छ । ‘आशाका किरण’ संस्थामार्फत शल्यक्रियादेखि गम्भीर अवस्थाका बिरामीसम्मलाई निरन्तर रक्त उपलब्ध गराउँदै आइरहेका छन् ।

यो सम्पूर्ण काम स्वयम्सेवी रूपमा हुँदै आएको छ । कुनै आर्थिक आम्दानी नभए पनि एउटा ज्यान बचाउन सक्दा मनले सन्तुष्टि पाउने भएकाले निरन्तर लागिरहेको उनी बताउँछन् । हाल दाङमा आपतकालीन रगत समन्वयका लागि चार वटा समूह सञ्चालनमा छन् । ‘आपतकालीन रक्त दाङ’, ‘आपतकालीन रक्त देउखुरी’, ‘आपतकालीन रक्त लमही’ र ‘रक्तदान नेपाल (तुलसीपुर)’ । यी समूह र स्वयम्सेवीहरूको सक्रियताले दाङमा रक्त अभावका कारण ज्यान जाने जोखिम क्रमशः घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे