राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसका जंगली, केसी र एमालेकी झाँकीले गराए उम्मेदवारी दर्ता
दाङ २३ पुस । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस दुई र नेकपा एमालेका एक जना गरि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सभा निर्वाचनका लागि चुनावी गठबन्धन गर्ने सहमति भएको छ । लुम्बिनीमा राष्ट्रिय सभाका लागि तीन सिट मात्रै छ । ती तीन पदका लागि सहकार्य गर्ने सहमति अुनसार कांग्रेस / एमालेले संगै गएर उम्मेदवारी दर्ता गराएका हुन । कांग्रेसबाट दाङका बासुदेव घिमिरे ‘जंगली’, गुल्मीका चन्द्र केसीले उम्मेदवारी दर्ता गाए भने एमालेबाट गुल्मीकी रामकुमारी झाक्रीले बुधबार घोराही स्थित लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले तोकेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन । कांग्रेसका घिमिरेले अपाङ्ग, केसीले अन्य र झाक्रीले महिला कोटामा उम्मेदवारी दर्ता गराएका थिए ।
कांग्रेस उम्मेदवार मध्य दाङको लमही नगरपालिका – २ का घिमिरेको प्रस्तावमा दाङको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री र समर्थकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी बसेका छन् । त्यस्तै गुल्मी रेसुङ्गा नगरपालिका– ३ का काँग्रेसका उम्मेदवार केसीको प्रस्तावकमा दाङको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत बसेका छन् । त्यस्तै गुल्मीकी एमाले नेतृ झाँक्रीको प्रस्तावकमा दाङको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा घोराहीकै उपप्रमुख हुमाकुमारी डिसी बसेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गहेन्द्र कँुवरले बताए । उम्मेदवारी दर्ताका लागि कांग्रेस–एमालेका संयुक्त उम्मेदवारहरु र्यालीसहित निर्वाचन अधिकृतको कार्यलय पुगेका थिए ।
