गढवा गाउँपालिका र नेपाल रेडक्रससँग विपद् व्यवस्थापन सहकार्यबारे छलफल
गढवा २१ पुस । गढवा गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा विपद् व्यवस्थापन, पूर्वतयारी, सम्भावित जोखिमको पहिचान तथा भविष्यमा आउन सक्ने चुनौतीहरूको विषयमा आज छलफल कार्यक्रम सम्पन्न भएको छ।
गढवा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीबीच सहकार्य गरेर पालिकामा देखिएका विपद्जन्य घटनाहरूको पहिचान, न्यूनीकरण तथा समाधानका उपायबारे छलफल गरिएको हो। कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनी कृष्णसहितको टोलीबीच विस्तृत विचार–विमर्श भएको थियो। छलफलका क्रममा गाउँपालिका अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकामा बाढी, आगलागी र सर्पदंशका घटनाहरू उच्च जोखिममा रहेको उल्लेख गर्दै यी क्षेत्रलाई प्राथमिकतामा राखी नेपाल रेडक्रससँग सहकार्य गर्न पालिका पूर्ण रूपमा तयार रहेको बताए। तीन मुख्य विपद् जोखिमका क्षेत्रमा लगानी र साझेदारी गरेर प्रभावकारी काम गर्न सकिनेमा आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो। नेपाल रेडक्रससँग सहकार्य गर्न पाउनु पालिकाका लागि गौरवको विषय भएको पनि उनले उल्लेख गरे ।
त्यसैगरी अध्यक्ष पोख्रेलले पालिकाका केही स्थानमा खहरे खोलाको कटान र पटानका कारण भविष्यमा ठूलो जोखिम निम्तिन सक्ने भन्दै त्यसको रोकथाम तथा व्यवस्थापनका लागि पनि नेपाल रेडक्रससँग मिलेर कार्यक्रम सञ्चालन गर्न पालिका तयार रहेको जानकारी दिए । उनले यसअघि सञ्चालन भएको ‘ईन्कोर’ परियोजनाले राम्रो काम गरेको स्मरण गर्दै विपद्को समयमा पालिकाले मात्र सबै खालको सन्तोषजनक सहयोग गर्न नसक्ने अवस्था रहेको बताउदै यस्तो परिस्थितिमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण र आवश्यक रहेको भन्दै यसलाई पालिका तथा व्यक्तिगत रूपमा पनि आफ्नो सौभाग्यका रूपमा लिएको बताए । छलफल कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरी, विपद् व्यवस्थापन शाखा प्रमुख शेषमणि पौडेल, जनमुखी माध्यमिक विद्यालय रङसिङका प्रधानाध्यापक ज्ञानहरी रिजाल, सब–इन्जिनियर चन्द्रप्रकाश वली, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनी कृष्ण, कार्यालय प्रमुख शंकर भट्टराई, नेपाल रेडक्रस सोसाइटी दाङका सभापति मदन गौतम, उपशाखा गढवाका सभापति उमाकान्त पन्त, सचिव आलोक भावुकलगायतको सहभागिता रहेको थियो।
