गढवामा हाट बजार सञ्चालनमा आएपछि किसान उत्साहित
गढवा २१ पुस । दाङ देउखुरीको गढवा गाउँपालिकामा दोस्रो पटक कृषि हाटबजार सञ्चालनमा आएसँगै किसानहरू उत्साहित भएका छन्।
गढवा उद्योग वाणिज्य संघको आयोजना, गढवा गाउँपालिकाको संरक्षकत्व तथा गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजनाको समन्वयमा गढवा कृषि तथा पशु हाट बजार सञ्चालन गरिएको हो। गढवा गाउँपालिका ६ गढवा बजारमा निर्माण भएको गढवा कृषि उपज संकलन तथा बिक्री केन्द्र परिसरमा ( ईलाका प्रहरी कार्यालय गढवाको उत्तर तर्फ) सञ्चालित हाटबजारमा करिब ३५ जना किसान तथा स्थानीय व्यापारीहरुले आफ्नो उत्पादन बिक्रीका लागि राखेका स्टलमा राखेर बिक्री गरेका छन्।
किसान तथा व्यापारीले तरकारी, फलफूल, कपडा, ढकिया, साबुन, हार्पिक, फुलका बेर्ना,खसी, कुखुरा ,च्याउ सुँगुर, खसीबोका लगायतका सामान समेत प्रदर्शन तथा बिक्री गरेका थिए। हाटबजार सञ्चालन नहुँदा किसानले आफ्नो उत्पादन टोकरीमा राखेर घरघरमा बेच्नुपर्ने गढवा बजारको चोकमा बेच्नु पर्ने बाध्यता थियो। अब, हाटबजारले किसानलाई उत्पादनको उचित मूल्य दिलाउन मद्दत पुर्याउने छ ।
