ओखलढुंगा प्रहरी प्रमुख डिएसपी केसीकाे ऐतिहासिक सफलता : भदौरे र चार्खु घटनाका ४ जना प्रकाउ
ओखलढुंगा २० पुस । ओखलढुंगा प्रहरी प्रमुख डिएसपी मदन केसीकाे ऐतिहासिक सफलता हासिल गरेका छन् । ओखलढुंगाको दुई छुट्टाछुट्टै स्थानमा तीन जनाको ज्यान लिनेगरी भएका विभत्स हत्या र लुटपाटका घटनामा संलग्न पेशेवर गिरोहलाई प्रहरीले पक्राउ गरे संगै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख डिएसपी मदन केसीले ऐतिहासिक सफलता हासिल गरेका हुन्।
सिद्धिचरण नगरपालिका -४, चार्खु र चिशंखुगढी गाउँपालिका-६, भदौरेमा भएको श्रृंखलाबद्ध हत्याका घटनाको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले चार जना अभियुक्तहरूलाई घरेलु बन्दुक र दशी सहित पक्राउ गरेर आज आइतबार पत्रकार सम्मेलन गरी घटनाका अभियुक्त सार्वजनिक गरेकाे छ ।
ओखलढुंगा प्रहरी प्रमुख डिएसपी मदन केसी अनुसार पहिलो घटनामा असोज २६ गते चार्खुमा एक्लै बस्दै आएकी ५२ वर्षीया रत्न कुमारी कटवाल (कार्की) को बन्चरो प्रहार गरी हत्या भएको थियो । हत्यापश्चात उनको घरबाट नगद तथा सुनका गरगहना लुटिएको थियो ।
त्यसैगरी पुस १५ गते किराना पसल सञ्चालक ६० वर्षीय सोभितमान थापा मगर र सोही उमेरकी उनकी श्रीमती रत्नमाया थापा मगरको कोदालो र अन्य घरेलु हतियार प्रहार गरी निर्मम हत्या गरिएको थियो ।
हत्यापश्चात शवलाई गोठमा लगेर स्याउलाले छोपेर पसल र कोठामा रहेको १ लाख नगद तथा सुनका गरगहना गरी करिब ६ तोला सुन लुटपाट गरिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले अनुसन्धान गरेर पुस १७ र १८ गते विभिन्न स्थानबाट चार जनालाई पक्राउ गर्न प्रहरी सफल हो ।
पक्राउ पर्नेहरूमा चिशंखुगढी गाउँपालिका ३ का २८ वर्षीय संगम राई, सोही गाउँपालिकाका ४ का ३० वर्षीय विनोद राई तथा ३० वर्षीय प्रकाश भुजेल र चिशंखुगढी ८ का ३० वर्षीय अशोक भुजेल रहेका छन् ।
प्रहरीले अभियुक्तहरूको साथबाट हत्यामा प्रयोग गरिएको बन्चरो, खुकुरी, र लुटिएको सुन गालेर बनाइएको रिङ बरामद गरेको छ । साथै, मृतकको पसलबाट लुटिएको रिचार्ज कार्ड, दुई थान भरुवा बन्दुक र चार थान मोबाइल समेत फेला परेको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । प्रचलित कानुन अनुसार क्रूर हत्यामा संलग्नलाई जन्मकैदको व्यवस्था छ भने डाँका र अवैध हतियारमा समेत थप कैद र जरिवाना हुने प्रहरीले जनाएको छ ।

