प्रगतिनगर खानेपानीको चौथो अधिवेशनबाट अध्यक्षमा ज्ञवाली निर्विरोध र अन्य सवै पदमा सर्वसम्मत



प्रगतिनगर खानेपानीको चौथो अधिवेशनबाट अध्यक्षमा ज्ञवाली निर्विरोध र अन्य सवै पदमा सर्वसम्मत

भालुवाङ २० पुस । दाङको राप्ती गाउँपालिका–८ पिपरीमा रहेको प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा तिर्थराज ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।

शनिवार राप्ती गाउँपालिका–८ पिपरीमा भएको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्ष पदमा ज्ञवाली बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि निर्वाचन समितिले ज्ञवालीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । ज्ञवाली यस अघि कार्यसमिति सचिव पदमा थिए । यसै गरि उपाध्यक्षमा नारायणी पोख्रेल, सचिवमा यमबहादुर चौधरी, कोषाध्यक्षमा मदन पोख्रेल सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक रामप्रसाद चौधरीले बताएका छन् । त्यस्तै सदस्यहरूमा घनश्याम पोख्रेल, नारायण चौधरी, विष्णु गुरूङ, गोपाल खत्री र तारा परियार पनि सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा चुमबहादुर बुढामगर, अनुगमन मुल्यांकन तथा गुणस्तर समिति संयोजकमा ओमप्रकाश गुप्ता, न्यायिक समिति संयोजकमा रणप्रसाद सुवेदी र खरिद समिति संयोजकमा बिर्खबहादुर महरा पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक चौधरीले जानकारी दिएका छन् । शनिबार भएको अधिवेशनमा अध्यक्ष बाहेक कुनै पनि पदमा सहमति नजुटेपछि आइतबारका लागि सहमति गर्न उम्मेदवारहरूलाई निर्वाचन समितिले बोलाएको थियोे । यसैबीच नवनिर्वाचित पदाधिकारी, सदस्य तथा उपसमितिका संयोजक तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण र सपथग्रहण गराउने कार्यक्रम पुस २३ गते विहान ११ बजेका लागि तय भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे