राप्ती-८ मा तमु ल्होसार पर्व मनाइयो, भाषा र संस्कार बचाउन परिवारको भुमिका हुन्छ : अध्यक्ष विष्ट



राप्ती-८ मा तमु ल्होसार पर्व मनाइयो, भाषा र संस्कार बचाउन परिवारको भुमिका हुन्छ : अध्यक्ष विष्ट

भालुवाङ १५ पुस । तमु ल्होसार पर्व २०८२ तथा तमु सम्वद २६०९ को अवसरमा मंगलबार  राप्ती गाउँपालिका वडा नम्बर ८ कोहलुवा श्रीनगरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

तमु हयुल छोंज धी गुरूङ राष्ट्रिय परिषद् इकाई कार्यसमिति राप्ती गाउँपालिका-८ पिपरीको आयोजनामा कार्यक्रम भएको हो । परिषद्का संस्थापक अध्यक्ष नरबहादुर गुरूङको अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा बोल्ने वक्ताहरुले भाषा, कला संस्कृति तथा भेषभुसाको संरक्षण गर्ने पहिलो दायित्व परिवारकै हुने बताएका छन् । अभिभावकले आफ्ना सन्तानहरुलाई मौलिक भाषा नसिकाउँदा भाषा नै लोप हुने अवस्था सिर्जना भएकोले चिन्ता समेत व्यक्त गरे । गुरूङ लगायत सवै जातजातिले भाषा तथा कला संस्कृति संरक्षण गर्न सरकार सँग माग गरेर मात्र नभई भाषा, कला संस्कृति तथा संस्कार बचाउने कुरा घरपरिवारमै निहित हुने र त्यस पछि सरकारले लिपिबद्व भाषालाई पाठ्यक्रममा समावेश गर्ने र बोलीचालीको भाषाको रूपमा प्रयोगमा ल्याउने दायित्व सरकारको रहने बताउनु भयो ।

कार्यक्रममा तमु हयुल छोंज धी गुरूङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य धनबहादुर गुरूङ, राप्ती गाउँपालिका वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष सुन्दर शाही, गुम्बा कार्यसमिति उपाध्यक्ष फेरूलाल चाैधरी, तमु हयुल छोंज धी गुरूङ राष्ट्रिय परिषद्का दाङ जिल्ला कार्यसमिति अध्यक्ष मोहन गुरूङ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, गुरूङ समाजसेवी मिना गुरूङ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम चर्चित लोकदोहोरी गायिका जालुमाया गुरूङले आधा दर्जन बढी गीत गाएर मनोरञ्जन दिएकी थिईन् ।

साथै कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति  सँगै विभिन्न प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो । तमु हयुल छोंज धी गुरूङ राष्ट्रिय परिषद्का  लुम्बिनी प्रदेश उपाध्यक्ष विष्णु गुरूङको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन परिषदका  दाङ जिल्ला सचिव लुमबहादुर गुरूङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे