दर्भानमा तमु ल्होसार मनाइयो, बहुभाषा, कला र संस्कृति देशको सम्पति हो : पूर्व के. सचिव गुरूङ्ग
भालुवाङ १५ पुस । गुरूङ्ग समुदायको महानचार्ड तमु ल्होसार पर्व २०८२ तथा तमु सम्वद २६०९ को अवसरमा मंगलबार प्यूठानको सरूमारानी गाउँपालिका–२, रानीबगर दर्भानमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तमु ह्युल छोंज धीं (गुरूङ्ग राष्ट्रिय परिषद्) सरूमारानी गाउँपालिका इकाई समितीको आयोजनामा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

परिषद्का अध्यक्ष गंगाबहादुर गुरूङ्गको अध्यक्षता एवम् परिषद् कै पूर्व केन्द्रीय सचिव डा. जिएस गुरूङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले भाषा, कला संस्कृति तथा भेषभुसाको संरक्षण गर्ने पहिलो दायित्व परिवार कै हुने बताएका थिए । उनीहरूले अभिभावकले आफ्ना सन्तानहरुलाई मौलिक भाषा नसिकाउँदा भाषा नै लोप हुने अवस्था सिर्जना भएकोले चिन्ता समेत व्यक्त गरे । गुरूङ लगायत सवै जातजातिले भाषा तथा कला संस्कृति संरक्षण गर्न सरकार सँग माग गरेर मात्र नभई भाषा, कला संस्कृति तथा संस्कार बचाउने कुरा घरपरिवारमै निहित हुने र त्यस पछि सरकारले लिपिबद्व भाषालाई पाठ्यक्रममा समावेश गर्ने र बोलीचालीको भाषाको रूपमा प्रयोगमा ल्याउने दायित्व सरकारको रहने बताएका थिए ।

कार्यक्रममा बोल्दै गुरूङ्ग राष्ट्रिय परिषद्का पूर्व केन्द्रीय सचिव डा. जिएस गुरूङ्गले बहुजाति, धर्म, भाषा, चालचलन, रितिरिवाज देशको प्रमुख सम्पत्ति भएको बताए । उनले नेपाललाई विश्वले तीन बिषयले चिन्ने गरेको चर्चा गरे । पूर्व केन्द्रीय सचिव गुरूङ्गले नेपाललाई सगरमाथा, बुद्ध र सांस्कृतिक बिबिधाको देश भनेर विश्वले चिन्ने गरेको बताए । उनले पछिल्लो समय हरेक जाति समुदायको कलासंस्कृति, भाषा, चालचलन र रितिरिवाज नयाँ पिढीमा पुस्तान्तरण हुन नसक्दा कतै जातिय पहिचान नै हराउने होइन भन्ने चिन्ता व्यक्त गरे ।

परिषद्का सचिव यमकला गुरूङ्गको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा सरूमारानी गाउँपालिकाका प्रबक्ता तथा ४ नम्बर वडा अध्यक्ष चिन्तामणि सोमई लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा चर्चित राष्ट्रिय लोकदोहोरी गायिका दिपिका बयोम्बु मगर सहित स्थानीय कलाकारहरूले प्रस्तुति राख्नु भएको थियो । त्यस्तै विभिन्न प्रतियोगिताका बिजेताहरूलाई पुरूस्कार समेत बितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन परिषद्का कोषाध्यक्ष राजकुमार गुरूङ्गले गरेका थिए ।







