गोरखा मोडेल सेकेण्डरी स्कुलको आठौं वार्षिक खेलकुद सप्ताह सम्पन्न 



गोरखा मोडेल सेकेण्डरी स्कुलको आठौं वार्षिक खेलकुद सप्ताह सम्पन्न 

लमही १४ पुस । दाङको लमही नगरपालिका-६ देउपुरमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलको आठौं वार्षिक खेलकुद सप्ताहलाई सोमबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।

गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्तीमगरको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको खेलकुद सप्ताह समापन कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले मानव जीवनमा खेलकुद अत्यावश्यक रहेको बताएका छन् । उनले खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने मात्र नभई आर्थिक समृद्धिको माध्यम समेत बन्न सक्ने धारणा व्यक्त गरे । नगर प्रमुख चौधरीले खेलकुदको माध्यमबाट प्रतिभावान खेलाडी उत्पादन गरी देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउँदै खेलकुद क्षेत्रलाई व्यवस्थित र व्यवसायिक बनाउनु आजको आवश्यकता भएको उल्लेख गरे । उनले विद्यालय तहबाटै खेलकुदको विकास र प्रोत्साहन गरिनु पर्नेमा जोड दिँदै लमही नगरपालिकाले खेलकुद प्रवर्द्धनका लागि आवश्यक सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

गत पुस ८ गते देखि सञ्चालन भएको विभिन्न विधाका खेलकुद अन्तरगत एथलेटिक्स, लमजम, हाइजम, त्रिपलजम, सटफूड, ज्यावलिङ थ्रु, भलिबल, फुटबल लगायतका खेलमा पुर्व प्राथमिक तथा प्राथमिक, आधारभूत र माध्यमिक तहमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेता विद्यार्थी तथा अभिभावकहरूलाई प्रमाणपत्र, मेडल, फूलमाला र टीका लगाएर सम्मान गरिएको थियोे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जिसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  विद्यालयका प्रधानाध्यापक लोकमान रिजालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन विद्यालयका मावि विज्ञान तह संयोजक प्रकाश रिजाल र पूर्व प्रावि तह संयोजक शिला रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे