भालुवाङमा जलवायु संवेदनशीलता तथा जोखिम मूल्यांकन सम्बन्धी दुई दिने तालिम सुरु



भालुवाङमा जलवायु संवेदनशीलता तथा जोखिम मूल्यांकन सम्बन्धी दुई दिने तालिम सुरु

भालुवाङ १४ पुस । जलवायु संवेदनशीलता तथा जोखिम मूल्यांकन सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तथा कार्यशाला गोष्ठी सोमबारदेखि दाङको राप्ती गाउँपालिका–१ भालुबाङमा सुरु भएको छ।

वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघीय पुँजी विकास कोषको साझेदारीमा सञ्चालित स्थानीय जलवायु अनुकूल जीवनयापन प्रवर्द्धन कार्यक्रम अन्तर्गत स्थानीय तहमा जलवायु परिवर्तनसम्बन्धी योजना निर्माण तथा कार्यान्वयन प्रक्रियालाई सुदृढ बनाउने उद्देश्यले उक्त तालिम तथा कार्यशालाको आयोजना गरिएको हो। लुम्बिनी प्रदेशका स्थानीय सरकारहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यशालामा जलवायु संकटासन्नता तथा जोखिम मूल्यांकनका माध्यमबाट गाउँपालिका तहमा विद्यमान जलवायु जोखिम, त्यसका प्रभाव तथा अनुकूलनका आवश्यकताबारे थप बुझाइ हासिल गर्ने लक्ष्य लिइएको छ। कार्यशालाबाट प्राप्त नतिजाहरू स्थानीय निकायसमक्ष प्रस्तुत गरी तिनको सान्दर्भिकता, उपयोगिता तथा योजना निर्माण र निर्णय प्रक्रियामा जोखिम मूल्यांकन विधिको प्रयोग आवश्यकताबारे छलफल गरिने आयोजकले जनाएको छ।

गाउँपालिकाका जनप्रतिनिधि, विषयगत शाखा तथा विकास साझेदारहरूलाई जोखिम मूल्यांकन अध्ययनबाट प्राप्त अन्तिम नतिजा र निष्कर्ष प्रस्तुत तथा प्रमाणीकरण गर्नु, अनुकूलन योजना प्रक्रियामा स्थानीय सरकारहरूको क्षमता सुदृढ गर्नु तथा जलवायु–संवेदनशील विकासका लागि ती नतिजाको प्रयोगमा सहयोग पुर्‍याउनु कार्यशालाको मुख्य उद्देश्य रहेको छ। कार्यक्रममा अनु अधिकारी, राजेन्द्र खनाल, गीता भट्टराई बस्ताकोटी र प्रज्ञान जाशीलेलगायतले सहजीकरण गर्नेछन्।
गोष्ठीमा दाङका राप्ती, गढवा र राजपुर गाउँपालिका, प्यूठानको सरुमारानी गाउँपालिका तथा कपिलवस्तुको बिजयनगर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको छ। तालिम मंगलबारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे