लुम्बिनी प्रदेश विश्व मै गिद्धको सुरक्षित बासस्थान : विषाक्त औषधी प्रयोग नियन्त्रण गर्न जोड



लुम्बिनी प्रदेश विश्व मै गिद्धको सुरक्षित बासस्थान : विषाक्त औषधी प्रयोग नियन्त्रण गर्न जोड

देउखुरी १४ पुस । नेपालमा रहेका सबै प्रकारका गिद्धहरूको सबै भन्दा सुरक्षित बासस्थान लुम्बिनी प्रदेशलाई मानिएको अध्यनन प्रतिवेदनले देखाएको छ । नेपाल पंक्षी संरक्षण संघले आज सोमबार देउखुरीको मौरीघाटमा आयोजना गरेको गिद्ध सुरक्षा र विषाक्त औषधी सम्बन्धी कार्यशाला गोष्ठीमा यस्तो तथ्यांक देखाईएको हो ।

संघले लुम्बिनी प्रदेशमा गिद्धको अवस्था, चुनौती र जोखिमको बिषयमा गरेको अध्ययन प्रतिवेदनले विश्व मै लुम्बिनी प्रदेश गिद्धहरुका लागि एकदमै उपयुक्त बासस्थान रहेको प्रस्तुत प्रतिवेदनले देखाएको छ । बिगतको भन्दा गिद्धहरु अहिले धेरै सुरक्षित रहेको भएता पनि केही जोखिम भने अझै पनि कायम रहेको अध्ययनले देखाइएको संघका परियोजना अधिकृत भुपाल नेपालीले सार्वजनिक तथा प्रस्तुतिकरण गरेकाे भएको प्रतिवेदनले देखाएको छ ।

प्रस्तुत प्रतिवेदन अनुसार हाल नेपालमा पाइने गिद्धहरु मध्ये डंङगर गिद्ध, सानो खैरो गिद्ध, लामो ठुडे गिद्ध र सुन गिद्ध एकदमै संकटापन्न अवस्थामा रहेको तथ्याङ्गले देखाएको छ । त्यस्तै सेतो गिद्ध, हिमाली गिद्ध, राज गिद्ध, हाडफोर गिद्ध र खैरो गिद्ध संकट नजिक रहेको प्रतिवेदनले जनाएको छ ।

बिगतमा नेपालमा प्रयोग गरिने डाइक्लोफेनिक बिषादीको प्रयोगले गिद्धहरूको संख्या धेरै घटेको भएपनि अहिले उक्त बिषादी प्रयोगमा प्रतिबन्ध लगाएपछि गिद्धको संख्यामा उल्लेखनीय वृद्धि भएको अध्ययन प्रतिवेदनले देखाएको छ । छिमेकी मुलुक भारत र बंगलादेशमा देशमा डाइक्लोफेनिक सहित बिषादी एसीकोल्फिनिक, निमोसलाइट, किटोप्रोफिट औषधीको प्रयोगमा प्रतिबन्ध लगाएको भएपनि नेपालमा डाइक्लोफेनिक बिषादीको मात्र नियन्त्रण भएको तथा अन्य औषधीहरु नियन्त्रण नभएको हुँदा गिद्धहरु जोखिममा पर्न सक्ने सम्भावना रहेको अध्ययन प्रतिवेदनले देखाएको छ । ती औषधीहरु पनि नेपालमा प्रतिबन्ध हुन सके गिद्धको संख्यामा उल्लेखनीय बृद्धि हुने बताइएको छ ।

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र दाङका प्रमुख डा.हरिनारायणप्रसाद थारूको अध्यक्षता एवम् लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका बरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डितको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरूले गिद्धलाई आवश्यक आहारबहारको व्यवस्थापन देखि औषधीको प्रयोगमा राज्य, सरोकारवाला निकाय र स्थानीय नागरिकहरू समेत सचेत बन्नु पर्ने बताएका थिए ।

उनीहरूले गिद्धको महत्त्व, आवश्यकता र गिद्धले वातावरणमा पार्ने सकरात्मक प्रभावका बिषयमा आम नागरिकलाई प्रशिक्षित गर्नुपर्ने समेत बताएका थिए । सहभागीहरूले गिद्धको मुख्य आहारका लागि गिद्ध रेष्टुरेन्ट सञ्चालनलाई थप प्रभावकारी बनाउनु पर्ने समेत बताएका थिए । गौशालाहरू संग समन्वय गरी बृद्धा गिद्धहरूलाई रेष्टुरेन्टमा राख्ने र कालगतिले मृत्यु भएको गाईहरूलाई गिद्धको आहारको रूपमा प्रयोगका लागि सरोकारवाला निकायहरूले आवश्यक भूमिका बढाउन सुझाब समेत दिएका थिए ।

 

सो अवसरमा बोल्दै गोष्ठीका प्रमुख अतिथी लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका बरिष्ठ कृषि अर्थ विज्ञ पण्डितले गिद्ध संरक्षणका लागि आहारबिहारको ब्यवस्थापन र बिषादी प्रयोग नियन्त्रणका लागि मन्त्रालयले आवश्यक भूमिका बढाउने बताए । उनले गिद्ध संरक्षणका लागि पाराएग्रो भेटहरू संग बृहत् छलफल देखि अन्तरक्रिया सम्म गर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका बरिष्ठ वन अधिकृत मनोज न्यौपानेले गिद्ध संरक्षणको बिषय सबैको साझा तथा सरोकारको बिषय बनाइनु पर्ने बताए । उनले पहिलेको भन्दा अहिले गिद्धको संख्यामा वृद्धि हुनु ठुलो उपलब्धिको बिषय रहेको बताउँदै गिद्ध संरक्षणमा बाधा पर्ने बिषयमा सबै पक्ष थप जिम्मेवार बन्नु पर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका कृषि अर्थ बिज्ञ तथा सुचना अधिकारी अनुप तिवारी, राप्ती गाउँपालिकाका पशुपंक्षी शाखा प्रमुख शेरबहादुर हमाल, कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोहरमान मियाँ र नेपाल पंक्षी संरक्षण संघका फिल्ड अफिसर पृथ्वी चौधरीको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संघका आर्का परियोजना अधिकृत सुरज बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे