दुर्गा भवानी आधारभूत विद्यालयका विद्यार्थीहरू पढाइ सँगै हाट बजारमा खाद्य परिकार बेच्दै
भालुवाङ १२ पुस । दाङमा विद्यार्थीहरू पढाइ सँगै हाट बजारमा खाद्य परिकार बिक्री गर्न थालेका छन् । दाङको राप्ती गाउँपालिका-३ मसुरियामा रहेको दुर्गा भवानी आधारभूत विद्यालयका विद्यार्थीहरू सोही वडाको सिरिचाैर मसुरियामा साप्ताहिक रूपमा शुक्रबार सञ्चालन हुँदै आएको हाट बजारमा खाद्य परिकार प्रदर्शनीमा राखेर बिक्री गरिरहेका छन् ।
पढाईका अतिरिक्त विद्यार्थीहरूको जीवन उपयोगी सीप, आर्थिक र बजारका विषयमा जानकारी दिन पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत हाट बजारमा खाद्य परिकार प्रदर्शनीमा राखेर बिक्री गर्न थालेको विद्यालयका प्रधानाध्यापक केशवराज आचार्यले जानकारी दिनु भएको छ । ‘पढ्दै–कमाउँदै’ अभियान सञ्चालन गरेसँगै विद्यार्थीहरूलाई जीवन उपयोगी सीप, व्यवसायिक सोच र बजार प्रणालीबारे व्यावहारिक रूपमा सिकाउने उद्देश्यले हाटबजारमा सहभागी गराइएको प्रधानाध्यापक आचार्यले बताउनु भयो । पुस्तकमा मात्रै सीमित रहने सीपले जीवनमै काम नगर्ने भएकाले व्यवहारिक अभ्यासका माध्यमबाट श्रमको मूल्य र आम्दानीको सम्मान सिकाउन कार्यक्रम सुरु गरिएको उहाँले बताउनु भयो ।
विद्यार्थीहरूले पकोडा, बिरयानी, दही पुरी, पानी पुरी, जेरी लगायत लोकप्रिय परिकार तयार पारेर प्रदर्शनीमा राख्ने र उचित मूल्यमा बिक्री गर्ने गरेका छन्। यस क्रममा स्वच्छता, हाइजिन, मापन, लेखा–जोखा र नाफा–नोक्सानको आधारभूत ज्ञान पनि सिकाइँदै आएको विद्यालयले जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले हाटबजारमा काम गर्न पाउँदा आत्मविश्वास बढेको अनुभव सुनाएका छन्। “पहिले ग्राहकसँग कसरी कुरा गर्ने थाहा थिएन, अहिले नम्र भएर कुरा गर्ने र परिकार परिचय दिने तरिका सिक्यौं,” एक विद्यार्थीले बताइन्। अर्का विद्यार्थीले भने, “बिक्रीबाट आएको सानो आम्दानीले पनि कति खुशी दिन्छ भन्ने थाहा भएको बताए । यसले अभिभावक र स्थानीयको ध्यान समेत आकर्षित गरेको छ। अभिभावकहरूले विद्यालयले पढाइसँगै सीप सिकाउन थालेपछि बच्चाहरूमा जिम्मेवारीबोध र परिश्रमप्रतिको रूचि बढेको प्रतिक्रिया दिएका छन् ।

