राप्ती नदी किनारमा फोहर गाडियाे : जनहित संरक्षण मञ्चद्धारा गम्भीर आपत्ती



राप्ती नदी किनारमा फोहर गाडियाे : जनहित संरक्षण मञ्चद्धारा गम्भीर आपत्ती

भालुवाङ ११ पुस । राप्ती गाउँपालिकाले राप्ती नदीको तटीय क्षेत्रमा फोहर संकलन गरी गाडेको जनगुनासो प्राप्त भएको र सो कार्यले जनस्वास्थ्य र वातावरणमा गम्भीर असर पर्ने भन्दै जनहित संरक्षण मञ्च (प्रो पब्लिक) ले कडा आपत्ति जनाएको छ ।

जनहित संरक्षण मञ्चले राप्ती गाउँपालिका वडा नं. २ पुण्यपुरका स्थानीय बासिन्दाबाट प्राप्त गुनासोका आधारमा गाउँपालिकालाई औपचारिक ध्यानाकर्षण गराएको हो । मञ्चका अनुसार राप्ती गाउँपालिकाले विगत करिब तीन वर्ष देखि पालिकाभर संकलन गरिएका सबै प्रकारका फोहर राप्ती नदीको तटीय क्षेत्रमा जम्मा गर्दै आएको छ । हाल वडा नं. २ पुण्यपुर क्षेत्रबाट करिब सात सय मिटर नदीको बहाव तर्फ खाडल खनी करिब पाँच दिनसम्म डोजर र ट्याक्टर प्रयोग गरी प्लास्टिकजन्य तथा विषाक्त फोहर गाडिएको जनाइएको छ ।

राप्ती नदी स्थानीय बासिन्दाको सिँचाइ, पशुपालन, घरायसी प्रयोजन र समग्र जीवनशैलीसँग प्रत्यक्ष जोडिएको नदी भएको उल्लेख गर्दै मञ्चले नदी किनारमा फोहर गाडिँदा वर्षायाममा फोहर बगेर पानी दूषित हुने, जलचर मर्ने र दीर्घकालीन रूपमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम रहेको जनाएको छ । यो विषय केवल वातावरणीय मात्र नभई स्थानीयको स्वास्थ्य, जीविकोपार्जन र भविष्यसँग सम्बन्धित भएको मञ्चको ठहर छ । मञ्चले राप्ती गाउँपालिकासँग नदी तटीय क्षेत्रमा गरिएको फोहर गाड्ने कार्य तत्काल रोक्न, उक्त फोहर हटाउन र संविधान तथा प्रचलित कानुनअनुसार दिगो र प्रभावकारी फोहर व्यवस्थापन प्रणाली अवलम्बन गर्न आग्रह गरेको छ । साथै स्थानीय समुदायसँग सहकार्य गर्दै राप्ती नदीको संरक्षणलाई प्राथमिकतामा राख्न अनुरोध गरिएको छ ।

स्थानीय सरोकारवालाहरू किसन चौधरी, तेजेन्द्र केसी, भगत चौधरी, तेजकुमार सुनार, माधव शर्मा, हरिनारायण पौडेल, सरोज गिरि र कल्पना घर्ति मगरले संयुक्त रूपमा नदी सभ्यता र वातावरण संरक्षणका लागि तत्काल कदम चाल्न माग गर्नुभएको छ । यस विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश र जिल्ला प्रशासन कार्यालय दाङलाई पनि बोधार्थ पठाइएको जनहित संरक्षण मञ्चले जनाएको छ । राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष पहलवान चौधरीले नदी उकास क्षेत्रमा फोहर व्यवस्थापन गरिएको बताए । ‘नदीको किनार पनि होइन, नदी पनि होइन, नदी उकास क्षेत्र हो । त्यहाँ ठूलो खाडल थियो । त्यहाँ जलेको कोही पूर्ण र अर्थ फोहरलाई व्यवस्थापन गरेका हौं’उनले भने, ‘नदीमै फालेको भन्ने होइन ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे