नामसालिङ सामुदायिक विकास केन्द्रको पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न
मसुरिया २ पुस । दाङको राप्ती गाउँपालिकाको साझेदारी संस्था नामसालिङ सामुदायिक विकास केन्द्रको पालिका स्तरीय समन्वयात्मक बैठक बुधबार मसुरियामा सम्पन्न भएको छ।
विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिकाको समन्वयमा सञ्चालन भइरहेको एकीकृत सामुदायिक विकास परियोजनासम्बन्धी विषयमा छलफल गर्न बैठक आयोजना गरिएको थियो। बैठकमा परियोजनाअन्तर्गत हालसम्म भएका कार्यक्रम तथा आगामी योजनाबारे समन्वय र सुझाव आदान–प्रदान गरिएको थियो। कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्र दाङका कार्यक्रम संयोजक सशांक आचार्यले सन् २०२१ देखि २०२५ सम्म राप्ती गाउँपालिकामा सञ्चालन भएका गतिविधिबारे जानकारी दिएका थिए। उनका अनुसार पोषण सुरक्षा, कृषि तथा खाद्य सुरक्षा, जलवायु परिवर्तन अनुकूलन, आयआर्जन वृद्धि, लैङ्गिक समता तथा सामाजिक समावेशीकरण र सुशासनका क्षेत्रमा केन्द्रित रहेर कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।
गाउँपालिकाका नौ वटै वडामा ३२ वटा समूह गठन गरी कार्यक्रम सञ्चालन भइरहेको र वडा नम्बर ९ रुपाकोटमा राप्ती कृषि सहकारी संस्था गठन गरी सञ्चालनमा ल्याइएको जानकारी पनि बैठकमा दिइएको थियो। बैठकमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले ग्रामीण क्षेत्रका विपन्न नागरिकको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न नामसालिङ सामुदायिक विकास केन्द्रले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै केन्द्रको उच्च प्रशंसा गरे। स्थानीय स्तरमा कृषि, पोषण, आयआर्जन तथा जलवायु अनुकूलनसम्बन्धी कार्यक्रमहरूले दिगो विकासमा टेवा पुर्याइरहेको अध्यक्ष विष्टको भनाइ थियो। उनले राप्ती गाउँपालिका र नामसालिङ सामुदायिक विकास केन्द्रबीचको सहकार्यले आगामी दिनमा थप सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे । साथै, गाउँपालिकाले समुदाय लक्षित प्रभावकारी कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
उनले आगामी वर्षका कार्यक्रमहरूमा युवालाई कृषि पेसामा आकर्षित गर्ने, कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा जोड दिने, प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने तथा युवा र अपाङ्गता भएका व्यक्तिलाई लक्षित कार्यक्रम तय गर्नुपर्ने सुझाव दिए । गाउँपालिकाको सरसफाइ व्यवस्थापनका क्षेत्रमा समेत सहकार्य गर्न सकिने विषयमा पनि उनले चासो व्यक्त गरे। नामसालिङ सामुदायिक विकास केन्द्रले दोलखाको कालिञ्चोक गाउँपालिका र दाङको राप्ती गाउँपालिकामा प्रत्यक्ष रूपमा परियोजना सञ्चालन गरिरहेको तथा गढवा र राजपुर गाउँपालिकामा दक्षिण देउखुरी मञ्चसँग समन्वय गरी कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको जानकारी बैठकमा दिइएको थियो। बैठकमा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, वरिष्ठ लेखा अधिकृत लेखा भण्डारी, आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य, प्रशासन शाखा प्रमुख विकास ज्ञवाली लगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
केन्द्रका सुशासन संयोजक बिनोद निरौलाले आगामी कार्यक्रमहरूको योजना प्रस्तुत गर्दै परियोजनाको कार्यक्षेत्र विस्तार गरी प्युठानको सरुमारानी गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकासम्म विस्तार गर्ने तयारी रहेको जानकारी दिए। वि.सं. २०४१ सालमा इलामको नामसालिङ गाउँमा स्थापना भएको नामसालिङ सामुदायिक विकास केन्द्रले २०७४ सालदेखि दाङको राप्ती गाउँपालिकामा एकीकृत सामुदायिक विकास परियोजनामार्फत कृषि, पोषण, आयआर्जन, जलवायु अनुकूलन र सुशासनका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

