राप्तीमा नेपाली सेनामा भर्ना हुन इच्छुक युवायुवतीका लागि अभिमुखीकरण कार्यक्रम



राप्तीमा नेपाली सेनामा भर्ना हुन इच्छुक युवायुवतीका लागि अभिमुखीकरण कार्यक्रम

मसुरिया २ पुस । दाङको राप्ती गाउँपालिकामा नेपाली सेनामा भर्ना हुन इच्छुक युवायुवतीलाई लक्षित गरी एकदिने सुरक्षा निकाय भर्ना छनौट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बुधबार मसुरियामा आयोजित कार्यक्रममा भर्ना प्रक्रिया, आवश्यक मापदण्ड तथा उपलब्ध अवसरबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

सुरक्षा निकायमा भर्ना भई राष्ट्र सेवामा समर्पित हुन चाहने युवायुवतीलाई सही सूचना उपलब्ध गराई त्यसतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रममा ८० जना विद्यार्थी तथा युवायुवतीको सहभागिता रहेको थियो। अभिमुखीकरण कार्यक्रममा ज्वालादल गण, घोराहीका सेनानी राजकुमार गिरी नेतृत्वको टोलीले नेपाली सेनाको संरचना, तहगत व्यवस्था, छनोट प्रक्रिया, आवश्यक शैक्षिक योग्यता, शारीरिक मापदण्ड (उमेर, उचाइ, तौल), खुला प्रतिस्पर्धात्मक परीक्षाको पाठ्यक्रम तथा त्यसको तयारीका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा सहभागीहरुले सुरक्षा निकायमा भर्ना सम्बन्धी स्पष्ट जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन्। राप्ती गाउँपालिकाले आगामी दिनमा पनि युवा लक्षित यस्ता अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे