राप्तीमा करार खेती कार्यक्रम प्रभावकारी बन्दै, कृषक उत्साहित
भालुवाङ २ पुस । दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको करार खेती कार्यक्रम प्रभावकारी बन्दै गएको छ। भाडामा जग्गा लिएर खेती गर्ने कृषकलाई लक्षित गरी लागू गरिएको यस कार्यक्रमबाट कृषकहरू उत्साहित भएका छन् ।
गाउँपालिकाले लागू गरेको ‘स्वरोजगारका लागि युवा लक्षित करार खेती’ कार्यक्रममार्फत ३२ जना कृषकले करिब २८ बिघा क्षेत्रफलमा विभिन्न बालीको खेती गरिरहेका छन्। आफ्नै जग्गा नभएका तर कृषि पेशामा संलग्न हुन चाहने युवा कृषकलाई कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ। कार्यक्रम अनुसार कृषकहरूले न्यूनतम ५ कठ्ठादेखि अधिकतम १०० कठ्ठासम्म जग्गा भाडामा लिएर खेती गर्नुपर्ने व्यवस्था छ। एक वर्षीय बालीका लागि कम्तीमा ३ वर्ष र बहुवर्षीय बालीका लागि १५ वर्षको करार सम्झौता अनिवार्य गरिएको छ, जसले दीर्घकालीन कृषि लगानीलाई प्रोत्साहन गरेको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बेरोजगार युवालाई स्वदेशमै कृषि मार्फत रोजगारी सिर्जना गर्दै पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार यो कार्यक्रम आर्थिक वर्ष २०७९/८० देखि लागू गरिएको हो।
कार्यक्रम अन्तर्गत एक वर्षमा कम्तीमा २ नगदेबाली खेती गरेको हुनुपर्ने शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिए । उनका अनुसार छनोट भएका कृषकले पहिलो वर्ष जग्गा भाडाको १०० प्रतिशत, दोस्रो वर्ष ५० प्रतिशत र तेस्रो वर्ष २५ प्रतिशतसम्म अनुदान प्राप्त गर्ने व्यवस्था गरिएको । यसै क्रममा मंगलबार गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको नेतृत्वमा अनुगमन समितिका पदाधिकारी तथा प्राविधिकसहित कृषकहरूले सञ्चालन गरिरहेका करार खेतीको स्थलगत अनुगमन गरिएको छ। अनुगमनका क्रममा कार्यक्रम प्रभावकारी देखिएको र कृषकहरू थप उत्साहित बनेको उपाध्यक्ष चौधरीले बताए ।

