राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा भिषण आगलागी: करोडौंको मेसिन र इन्टरलक जलेर खरानी
भालुवाङ २६ मंसिर । दाङको राप्ती गाउँपालिका-२ पुन्यपुरमा रहेकाे फाेहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भिषण आगलागी भएको छ ।
शुक्रबार बिहान देखि लागेको आगो अहिले पनि नियन्त्रणमा आउन सकेको छैन् । आगालागीका कारण एउटा ट्रस्ट भवन सहित ठुला साना मेसिन र टायल तथा इन्टरलक जलेर पूर्णरूपमा नष्ट हुँदा करोडौंको क्षति भएको छ ।
आगो नियन्त्रणका लागि गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजर प्रयोग गरिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरूद्वारा आगो नियन्त्रण गर्ने प्रयास जारी रहेको छ । आगो विधुत सर्ट भएर हो या कसैले आगो लगाएको हो भन्ने विषयमा अहिले सम्म पुष्टि हुन नसकेको इलाका प्रहरी कार्यालय भालवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले जानकारी दिएका छन् ।
`२ नम्बर वडा अध्यक्ष पहलवान चाैधरीले खबर गरेपछि घटनाबारे थाहा भयाे । आगाेलागी नियन्त्रणमा लिने काम भएको छ´ उनले भने-`फाेहर व्यवस्थापनका लागि बनाइकाे घर जलेकाे छ । कसरी आगाेलागि भयाे भन्ने बारेमा अनुसन्धान भएपछि बल्ल कारण पत्ता लाग्छ प्रहरी निरिक्षक ऐरीले भने।´
राप्ती गाउँपालिकाले त्यहाँ फाेहर व्यवस्थापन गर्दै आएको थियाे । पछिल्लो समय फाेहर व्यवस्थापनमा स्थानीयहरुले अवराेध गर्दै आएका थिए । जसकाे कारणले गर्दा विवाद चुलिँदाे थियाे । व्यवस्थित रुपमा फाेहर व्यवस्थापन नगरेकाे स्थानीयकाे आराेप थियाे । वार्ताबाट निकास निकाल्न प्रयास थालिएको थियाे र केही हदसम्म सहमतिकाे वातावरण बनेकाे थियाे ।

