राप्तीमा फोहोर व्यवस्थापनको विवाद टुंगियो : फोहोर संकलनको कामलाई स्थगित गरि व्यवस्थापनको काम गर्ने सहमति



राप्तीमा फोहोर व्यवस्थापनको विवाद टुंगियो : फोहोर संकलनको कामलाई स्थगित गरि व्यवस्थापनको काम गर्ने सहमति

भालुवाङ १५ मंसिर । दाङको राप्ती गाउँपालिकामा केही दिन देखि उत्पन्न सरसफाइ व्यवस्थापन सम्बन्धी समस्या अन्ततः समाधान भएको छ।

गाउँपालिकाको कार्यालय मसुरियामा साेमबार गाउँपालिका र आन्दोलनरत पक्षबीच भएको वार्तामा सरसफाइ व्यवस्थापन केन्द्रमा लगाइएको ताला तत्काल खोल्ने, त्यहाँ जम्मा भएको फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्ने र केन्द्र भित्र रहेको फोहोर पूर्णरूपमा व्यवस्थापन नभएसम्म बजार तथा गाउँबाट फोहोर संकलन कार्य स्थगित गर्ने सहमति भएपछि समस्या समाधान भएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीले जानकारी दिएका छन् ।

वार्तामा गाउँपालिकाकाे तर्फबाट गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा नं. २ का अध्यक्ष तथा प्रवक्ता पहलवान चौधरी,वडा नं. १ का अध्यक्ष गेमबहादुर खड्का, वडा नं. ३ का अध्यक्ष उमेश अधिकारी, वडा नं. ४ का अध्यक्ष बिरबहादुर चौधरी, वडा नं. ६ का अध्यक्ष दिपक कुमार चौधरी, वडा नं. ७ का अध्यक्ष सिताराम चौधरी, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरी, कार्यपालिका सदस्यहरू तथा केही कर्मचारीहरूको सहभागिता रहेको थियो।

त्यस्तै आन्दोलनरत स्थानीयहरुकाे तर्फबाट संयोजक अशोक चौधरी, बुद्धिराम चौधरी, चैनकुमार चौधरी, मिना चौधरी, सङ्गीता चौधरीलगायतको सहभागीतन रहेको थियो। वडा नम्बर २ पुन्यपुरस्थित सरसफाइ व्यवस्थापन केन्द्रमा फोहोर उचित रूपमा व्यवस्थापन नभएको भन्दै कठाहाका स्थानीयहरूले गत सोमबार देखि केन्द्रमा ताला लगाई आन्दोलित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे