फोहोर व्यवस्थापनका विषयमा आज बसेको वार्ता बिना निष्कर्श टुंगियो
भालुवाङ १४ मंसिर । दाङको राप्ती गाउँपालिकामा फोहोरमैला व्यवस्थापनका विषयमा छलफल गर्न आज बसेको वार्ता बिना निष्कर्श टुंगिएको छ ।
राप्ती गाउँपालिका–२ पूण्यपुरमा रहेको सरसफाई व्यवस्थापन तथा स्रोत केन्द्रमा फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्ध बढेपछि कठाहाका स्थानीयहरुले फोहोर संकलन केन्द्रमा ताला लगाएर आन्दोलनमा उत्रिएपछि गाउँपालिकाले आन्दोलनरत पक्षलाई पत्र काटेर छलफलका लागि वार्तामा बोलाएको थियो ।
आन्दोलनरत पक्षबाट १० जना र पालिका अध्यक्ष सहित कार्यापालिका सदस्य तथा केहि कर्मचारी बीच आज बेलुका राप्ती गाउँपालिकाको कार्यालयमा बसेको वार्तामा कुरा नमिलेपछि पुन आर्को पटक बस्ने गरी आजको वार्ता सकिएको गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिएका छन् । आन्दोलनरत पक्षले वार्ता गर्न फिल्डमा जानुपर्ने दबाब र सरकार पक्षले प्रतिनिधिमुलक तरिकाले मात्र वार्ता गर्न सकिने अडान राखेपछि आजको वार्ता बिना निष्कर्श टुंगिएको प्रवक्ता चौधरीले बताए ।
यता आन्दोलनरत पक्षले भने गाउँपालिका अध्यक्ष फिल्डमा नआउँदा सम्म वार्ता गर्न नसकिने संयोजक अशोक चौधरीले बताएका छन् । वार्तामा सरकारको तर्फबाट गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, वडा नम्बर २ का वडा अध्यक्ष तथा प्रवक्ता पहलवान चौधरी, ३ का अध्यक्ष उमेश अधिकारी, ४ का अध्यक्ष बिरबहादुर चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण राउत, इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरी, कार्यपालिका सदस्यहरु र केहि कर्मचारीहर रहेका थिए भने आन्दोलनरत पक्षबाट संयोजक अशोक चौधरी सहित प्रदेशी चौधरी, भोजराज चौधरी, श्रीराम चौधरी, तिलिकराम चौधरी, कौशिला चौधरी, संगिता चौधरी, सिर्जना चौधरी, लक्ष्मण चौधरी, ईश्वरी चौधरी र सरस्वती पाण्डे रहेका थिए । सरसफाई व्यवस्थापन तथा स्रोत केन्द्रमा फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्ध बढेपछि राप्ती गाउँपालिका –२ कटाहाका स्थानीयहरुले गत सोमवार देखि फोहोर संकलन केन्द्रमा ताला लगाएर आन्दोलनमा उत्रिएका छन् । अव्यवस्थित फोहोर संकलनका कारण आफूहरूले दुर्घन्धको सामना गर्नुपरेकाले आफूहरु आन्दोलित हुनु परेको स्थानीयहरुले बताएका छन् ।

