लमहीकाे एकता सभामा चारलेनको विषयले प्रवेश नपाउँदा सामाजिक–सञ्जालमा चुलियाे आक्रोश



लमहीकाे एकता सभामा चारलेनको विषयले प्रवेश नपाउँदा सामाजिक–सञ्जालमा चुलियाे आक्रोश

देउखुरी १४ मंसिर । देउखुरीकाे लमहीमा आयोजित एकता सभाले स्थानीयको सबैभन्दा महत्वपूर्ण अपेक्षा-“धानखोला–लमही सडक” चारलेनकाे विषय उठान हुने आशा जगाएको थियो ।

देशकै दुई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल उपस्थित भएको सो कार्यक्रममा स्थानीयले सो मुद्दा प्रमुख एजेन्डा बन्ने अपेक्षा राखेका थिए तर नेताहरूको सम्पूर्ण मौनताले त्यो आशा निराशामा बदलिँदै स्थानीयको आक्रोश झनै सतहमा आइपुगेको छ ।

सभापछि सङ्घर्ष समितिका संयोजक प्रकाश शाहीले सामाजिक सञ्जालमार्फत् पोखेको पीडाले हजारौं देउखुरीवासीको मनस्थिति व्यक्त गरिदियो-“नेताबाट आशा अब बाँकी छैन, आवाज उठाउने बेला जनता आफैले तय गर्नुपर्छ ।”

“चारलेन सडक निर्माणमा जन दबाब आवश्यक”-स्थानीयको दृढ आवाज :

संयोजक शाहीको स्टाटसमा आएका टिप्पणीहरूले नेताप्रतिको निराशा मात्र होइन, जनताको आत्मविश्वास, आक्रोश र दृढ संकल्प झनै स्पष्ट बनाएका छन् । जगदिश गिरी लेख्छन्-“कमरेडहरूको प्राथमिकता के हो हामीलाई थाहा छ। यति ठूलो सभामा ‘यो सडक चारलेन हुनुपर्छ’ भन्ने एउटै वाक्य बोलेको भए देउखुरीवासीलाई राहत मिल्थ्यो। तर त्यो विषय तिनीहरूबाट सम्भव छैन। चारलेन अब हामी (जनता) ले नै ल्याएरै छाड्छौं ।”

उनको भनाइले एउटा तथ्य प्रस्ट बनाउँछ-स्थानीय बुझेका छन्, विकल्प राजनीतिक नेतृत्व होइन, जनताको तागत हो । हरेक साता दुर्घटनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या बढिरहेकाे भन्दै युवाहरुले चारलेन सडक निर्माणकाे आवाज उठाइरहेका छन् । युवाहरुले एमसिएअन्तर्गत बन्ने २ लेनकाे सडक नस्विकार्ने उद्घाेष गरेका छन् । युवाहरूले टिप्पणीमै आन्दोलनको अभियान सुरु गरिदिएका छन् ।

बसन्त आचार्य क्षेत्री भन्छन्-“दाजु, आह्वान गर्नु पर्यो जनतालाई । हरेक हप्तामा २/४ ज्यान गएको छ। अब पनि नजागे कहिले जाग्ने ? मन टाढा भए पनि साथ आज पनि छ दाजु ।” यो अभिव्यक्तिले सडकको अवस्थाले कति मानवीय क्षति पुर्‍याइरहेको छ भन्ने कुरालाई हृदयविदारक ढंगले उजिल्याइदिन्छ ।

एमसीसी र संघीय सरकारप्रति प्रश्न : ‘दुई-दुई लेन बनाए पुग्दैन ?’

एमसीसी परियोजनाअन्तर्गत धानखोला–लमही खण्डलाई २ लेनमा सीमित गर्न खोजिएको स्थानीयले लामो समयदेखि आरोप लगाउँदै आएका छन् । यो सन्दर्भमा मधव खनालको सुझाव व्यावहारिक छ- “संघीय अर्थमन्त्रालयमा डेलिगेसन जानुपर्छ। एमसीसीबाट दुई लेन र नेपाल सरकारले दुई लेन बनाए पुग्छ ।” तर नेताले यही कुरा सभामा किन बोलेनन् ?-स्थानीयको ठूलो प्रश्न यही हो ।

“पुराना नेताबाट विकासको आशै छैन”-आक्रोशले भरिएका आवाजहरू :

संयोजक शाहीकाे स्टाटसमा केशव पोखरेलको टिप्पणीमा सामान्य मानिसको विकसित राजनीति प्रतिको विश्वास कत्तिको कमजोर भइसकेको देखिन्छ-“तिनीहरूबाट अब कुनै आस छैन दाई। चुनावमा आश्वासन दिने बेला मात्र आउने नेताको भरोसा कसले गर्ने ?”

सूर्यप्रकाश भण्डारी त झनै कटु भएर भन्छन्- “पुराना नेताहरूको दिमागमा विकास र समृद्धिको योजना शून्य छ। एमसीसी पास गर्दा यो सडक चारलेन हुन्छ भन्ने कुरा सबैलाई थाहा थियो तर आज कोही बोलेन । प्रहरीको स्कोर्टमा हिँड्नेहरूलाई जनता र सडकको पीडा के थाहा ?” स्थानीय पीडाको भाषा राजनीतिक भाषणमा समावेश नभएपछि जनताको चोट झनै गहिरिएको छ ।

सङ्घर्ष समितिको भूमिका निर्णायक बन्दै, आन्दोलन ‘अब’ को आवश्यकता :

फेसबुकमा झल्किएको प्रतिक्रियाबाट ‘चारलेन सडक’ अहिले जनताको साझा आन्दोलनिक एजेन्डा बनिसकेको स्पष्ट देखिन्छ ।
शाहीको स्टाटसले कांग्रेस–एमाले–माओबादीभन्दा पनि ठूलो शक्ति-संगठित जनदबाब-निर्माण गरिरहेको छ । युवाहरूले स्पष्ट गर्दैछन्-“नेताले नबोले भने जनता बोल्छन् । अब सडकमा जानैपर्छ ।”

चारलेन किन अत्यावश्यक ?

  • देउखुरी प्रदेश राजधानी भएकाले यातायात चाप तीव्र
  • धानखोला–लमही खण्ड उच्च दुर्घटना जोखिम क्षेत्र
  • स्थानीयका अनुसार हरेक हप्तामा २–४ जनाले ज्यान गुमाउने अवस्थामा पुगिसकेको
  • एमसीसीको दुई लेन र नेपाल सरकारको पहल मिलेर मात्र चारलेन व्यावहारिक सम्भव
  • राजनीति होइन, जीवन र क्षेत्रीय विकासको प्रश्न

स्थानीयको अन्तिम निष्कर्ष : “मौन नेताहरू होइन, बोल्ने जनता नै निर्णायक”

देउखुरीमा ठूलो भीड, ठूलो मंच र ठूला नेताहरू आए तर चारलेनको कुरा आउन नसकेपछि स्थानीय युवाको भरोसा राजनीतिमाथि झनै क्षीण भएको छ । अब उनीहरूले उठाएको आवाज एकै छ-“चारलेन सडक हाम्रो अधिकार हो । यो अधिकार अब जनता आफैंले संघर्ष गरेर प्राप्त गर्छन् ।” यी प्रतिक्रियाले आगामी दिनमा देउखुरीमा सडक आन्दोलन फेरि तीव्र हुने संकेत प्रस्ट देखिन्छ ।

-लुम्बिनी सञ्चारबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे