दुर्गा भवानी आधारभूत विद्यालयका विद्यार्थीहरु पढाइ सँगै कृषि कर्ममा रमाउँदै
भालुवाङ ११ मंसिर । दाङको राप्ती गाउँपालिका–३ मसुरियामा रहेको दुर्गा भवानी आवारभूत विद्यालयका विद्यार्थीहरू पढाइसँगै कृषि कर्ममा रमाउन थालेका छन् ।
विद्यालय परिसरमा रहेको जग्गामा गहुँ, प्याज, राजमा, लसुन र टमाटर खेती गरेर विद्यार्थीहरूले आत्मनिर्भरताको नयाँ उदाहरण प्रस्तुत गरेका छन् । उनीहरूले उत्पादन गरेको वस्तु बिक्री गरेर संकलित आम्दानीलाई गरिब तथा विपन्न बालबालिकाको शैक्षिक सामग्री किन्न प्रयोग गर्ने बताएका छन् ।
पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत विद्यार्थीहरूका सातै दिन पढाइ, खेलकुद र कृषि सीप सँगै बित्ने गरेको छ । विद्यालयले व्यवहारिक शिक्षालाई प्राथमिकता दिएपछि विद्यार्थीहरू उत्साहका साथ कृषि कर्ममा लागेका छन् । शिक्षकको सहयोगमा उनीहरूले केही दिन अघि विद्यालय परिसरमा रहेको ४ कठ्ठा जग्गामा गहुँ, प्याजको बेर्ना, राजमा, लसुन र टमाटर खेतीसुरु गरेका छन्, जसले अहिले राम्रो रूप लिन थालेको छ ।
दैनिक छैठौ सातौ घण्टीमा १–२ घण्टा समय निकालेर विद्यार्थीहरूले बिरुवा बिउ छर्नेे, सिँचाइ गर्ने, मल व्यवस्थापन देखि रोग–कीरा नियन्त्रण सम्मका सीप सिकिरहेका छन् । उत्पादन भइरहेको फलफूल तथा तरकारी उनीहरूकै हातबाट नजिकको हाट बजार पुग्ने गरेको छ यसलाई आर्थिक स्रोत नभई सामाजिक योगदानको रूपमा उनीहरुले लिएका छन् । “हामीले अहिले विद्यालयमै गहुँ र टमाटर लगाएका छौँ । उत्पादन भएको वस्तु नजिकको हाट बजारमा लगेर बेच्ने योजना छ । आम्दानीको रकमले गरिब तथा विपन्न बालबालिकाहरूका लागि शैक्षिक सामग्री किन्न सहयोग गर्ने सोच बनाएको विद्यार्थीहरुको भनाई छ ।
पढाई सँगै विद्यार्थीको व्यवहारिक सीप मात्र बढाएको छैन, उनीहरूमा नेतृत्व क्षमता, समूहमा काम गर्ने बानी र समाजप्रतिको दायित्वबोध पनि विकास गरिरहेको विद्यालयका प्रधानाध्यापक केशवराज आचार्यले बताउनु भयो । “विद्यार्थीहरूले कृषि कर्म मार्फत आम्दानी जुटाएर विपन्न साथीहरूको सहयोग गर्ने लक्ष्य राख्नु निकै सकारात्मक पहल हो । यसले शिक्षा र संस्कार दुवैको विकासमा ठूलो मद्दत गर्छ ।” विद्यार्थीहरुलाई छैठौ÷सातौ घण्टीमा स्थानीय पाठ्यक्रममा आधारित सिप विकास अन्तरगत तरकारी खेती, पुष्प खेती, सरसफाई गर्न परिचालन गर्ने र विद्यालयमा सिकेको सिप घरमा पनि प्रयोग गर्ने र घरमै पनि तरकारी उत्पादन गर्न प्रोत्साहित गर्ने प्रधानाध्यापक आचार्यले बताउनु भयो ।
पढाइसँगै सीप सिक्दै समाजमा योगदान दिने अभिप्रायले सुरु गरिएको यो कृषि कर्मले दुर्गा भवानी आवारभूत विद्यालयका विद्यार्थीहरूलाई अनुकरणीय बनाएको छ । उद्यमशीलता, अनुशासन र सामाजिक सद्भाव सिक्ने उनीहरूको प्रयासले भविष्यमा सक्षम नागरिक उत्पादन हुने विश्वास गरिएको छ । त्यसैले यस प्रकारको कृषि कर्म सवै विद्यालयमा लागु गर्न आवश्यक देखिन्छ ।

