फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न आन्दोलनरत पक्षलाई राप्ती गाउँपालिकाले वार्तामा बोलायो
भालुवाङ ११ मंसिर । दाङको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापनका विषयमा छलफल गर्न आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।
राप्ती गाउँपालिका–२ पूण्यपुरमा रहेको सरसफाई व्यवस्थापन तथा स्रोत केन्द्रमा फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्ध बढेपछि कठाहाका स्थानीयहरुले फोहोर संकलन केन्द्रमा ताला लगाएर आन्दोलनमा उत्रिएपछि गाउँपालिकाले आन्दोलनरत पक्षलाई पत्र काटेर छलफलका लागि वार्तामा बोलाएको हो ।
हरेक असहज र विषम परिस्थितिको समाधान वार्ता र संवाद मार्फत हुने हुँदा विवादमा सिर्जित विविध विषयमा छलफल गरी उचित मागलाई संबोधन गर्ने गरी आन्दोलनरत पक्षलाई वार्ता टोली गठन गरी शुक्रवार अर्थात मंसिर १२ गते दिउँसो २ बजे गाउँपालिकाको कार्यालयमा उपस्थित हुनका आन्दोलनरत पक्षलाई पत्र पठाएर वार्तामा बोलाएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । यता आन्दोलनरत पक्षका अगुवा अशोक चौधरीले शुक्रवार विहान मात्र वार्ता टोली गठन गरि छलफलका लागि वार्तामा जाने तयारी भएको बताएका छन् ।
फोहोरमैलाको उचित व्यवस्थापन हुनुपर्छ भनि स्थानीयबासीहरुले राखेको माग तथा चासोलाई गाउँपालिकाले अत्यन्तै गम्भिर र सकारात्मक ढंगले ग्रहण गरेको छ । स्वच्छ र सफा राप्तीको निर्माण हामी सबैको साझा दायित्व हो । तसर्थ फोहोरमैला व्यवस्थापनको सम्बन्धमा सृजित वर्तमान असहज परिस्थिति अन्त्य गर्ने दिशामा गाउँपालिकाले आवश्यक प्रकृया अगाडी बढाईसकेको हुँदा केहि समय धैर्यता कायम राख्दै शान्तिपुर्ण वातावरणमा अगाडी बढ्न सरोकारवाला पक्षलाई गाउँपालिका अनुरोध गरेको छ । “सफा राप्ती, स्वच्छ राप्ती” बनाउने कार्यलाई साकार पार्ने अभियान अन्तर्गत २०८० साउन २२ गते देखि फोहोरमैला व्यवस्थापन तथा सङ्कलन केन्द्र हालसम्म पुर्ववत सम्झौताको मर्म अनुसार नै अगाडि बढिरहेको सन्दर्भमा गत आर्थिक वर्ष २०८१÷०८२ मा संघिय सरकारबाट प्राप्त विषेश अनुदान प्रदेश सरकारले पुर्ण रुपमा कार्यान्वयन गर्न नसक्दा फोहोरमैला वर्गीकरण गर्ने मेशिन खरिदमा ढिलाई हुन पुगेको गाउँपालिकाले जारी गरेको पत्रमा उल्लेख छ ।
चालु आर्थिक वर्ष २०८२÷०८३ मा ट्रोमेल स्किन प्लान्ट सहितको कन्भेयर बेल्ट मेसिन खरिदको प्रकृया अगाडि बढीसकेको हँुदा फोहोरमैला उचित व्यवस्थापनको कार्य केहि समय भित्र तिव्र गतिमा अगाडि बढाईने पत्रमा उल्लेख छ । सरसफाई व्यवस्थापन तथा स्रोत केन्द्रमा फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्ध बढेपछि राप्ती गाउँपालिका –२ कटाहाका स्थानीयहरुले गत सोमवार देखि फोहोर संकलन केन्द्रमा ताला लगाएर आन्दोलनमा उत्रिएका छन् । अव्यवस्थित फोहोर संकलनका कारण आफूहरूले दुर्घन्धको सामना गर्नुपरेकाले आफूहरु आन्दोलित हुनु परेको स्थानीयहरुले बताएका छन् ।

