राप्ती गाउँपालिकामा बाल अधिकार, बाल श्रम र बाल विवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
भालुवाङ २ मंसिर । दाङको राप्ती गाउँपालिकामा बाल अधिकार, बाल श्रम र बाल विवाह न्यूनीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। राप्ती गाउँपालिकाले पालिका अन्तर्गत रहेका माध्यमिक तहका विद्यार्थीहरूलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेकाे हो।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संस्कारसहितको शिक्षा आजको आवश्यकता रहेको बताए । पछिल्ला वर्षहरूमा शिक्षा सँगसँगै संस्कारको अभाव देखिँदै गएको भन्दै अध्यक्ष विष्टले बालबालिकाहरू विभिन्न दुर्व्यसन, कुलत तथा बालविवाहतर्फ उन्मुख भइरहेका घटनाले चिन्ता बढाएको उल्लेख गरे । उनले प्रविधिको बढ्दो प्रयोग तथा सामाजिक सञ्जालको गलत प्रयोगले शहरदेखि गाउँ सम्मका बालबालिकामा नकारात्मक प्रभाव परेको बताउँदै अभिभावक र सरोकारवाला सबैले समयमै निगरानी र मार्गदर्शन गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्थानीय तहले बाल अधिकार संरक्षण तथा जोखिम न्यूनीकरणका लागि सञ्चालन गरिरहेको काम, योजना तथा आगामी रणनीतिबारे जानकारी गराए । उनले विद्यालय स्तरमै सचेतना कार्यक्रम विस्तार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए ।
अभिमुखिकरणका क्रममा चर्चित कलाकार कमल गाउँले र गाउँपालिकाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसीले बाल अधिकारका आधारभूत पक्ष, बाल श्रमको प्रभाव, बाल विवाहका जोखिम तथा न्यूनीकरणका उपायबारे प्रशिक्षण दिएकी थिइन्। साे अवसरमा लागु औषध तथा कुलतबाट बच्नको लागि तयार पारिएको भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो। जसले विद्यार्थीहरूलाई जोखिम र असरबारे थप जानकारी गराएको थियो।गाउँपालिकाका अध्यक्ष विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १ नम्बर वडा अध्यक्ष गेमबहादुर खड्का, ३ नं. वडा अध्यक्ष उमेश अधिकारी, कार्यपालिका सदस्य रणबहादुर पुजाली, शिक्षा, युवा तथा खेलकुद शाखाकी प्राविधिक सहायक देवि मल्ल लगायत सामुदायिक तथा संस्थागत विद्यालयका करिब २ सय बढी विद्यार्थीहरुकाे सहभागीता रहेको थियो ।

