सिसहनियाँ उद्योग बाणिज्य संघको ११ औँ साधारणसभा मंसिर २७ गते हुने
देउखुरी १ मंसिर । दाङ—देउखुरीको सिसहनियाँ उद्योग बाणिज्य संघको यही मंसिर २७ गते शनिबारका दिन ११ औँ बार्षिक साधारणसभा गर्ने भएको छ । यस अघि बसेको संघको नियमित बैठकले संघको साधारणसभा गर्ने निर्णय गरेको थियो । संघका अध्यक्ष इश्वरीप्रसाद अधिकारीको अध्यक्षतामा आज सोमबार संघको कार्यालय सिसहनियाँमा साधारणसभा तयारी बैठक समेत सम्पन्न भएको छ ।

बैठकले संघका महासचिव प्रशान्त बसेललाई बार्षिक प्रतिवेदन र कोषाध्यक्ष गिरबहादु्र ज्ञवालीलाई आर्थिक प्रतिवेदन लेखनको जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै बैठकले उत्कृष्ट व्यापारी र निवर्तमान कार्य समितीका पदाधिकारीहरुलाई सम्मान गर्ने निर्णय समेत गरेको छ । बैठकले कार्य समितीका अन्य पदाधिकारी तथा सदस्यहरुलाई अतिथी सत्कार, पत्रचार, अतिथी व्यवस्थापन, जलपान र मञ्च व्यवस्थापन लगायतका जिम्मेवारी समेत तोकेको संघका बरिष्ठ उपाध्यक्ष मदन पोख्रेलले जानकारी दिए ।

यस्तै बैठकले संघको कार्यक्षेत्रलाई पूर्ण रुपमा प्लास्टिक मुक्त बनाउने गरी केही दिन भित्रै अभियान शुरु गर्ने निर्णय समेत गरेको छ । साविकको सिसहनियाँ गाविस तथा हालको वार्ड नम्बर ५, ६, ७ र ८ लाई पूर्णमा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने र त्यसको सटामा संघले कपडाको झोला प्रयोगका लागि व्यापारी र ग्राहकलाई जानकारी गराउने संघले जनाएको छ । यसबीच संघले कार्य समितीका पदाधिकारी, सदस्य, सल्लाहकार र प्रेस सल्लाहकारलाई संघको परिचय—पत्र समेत बितरण गरेको छ ।

बैठकमा संघका उद्योग उपाध्यक्ष भागवत ज्ञवाली, महासचिव प्रशान्त बसेल, सचिव रामलाल पाण्डे, कोषाध्यक्ष गिरबहादुर ज्ञवाली, सदस्यहरु गोबिन्दबहादुर कँवरक्षेत्री, जीवन अधिकारी, बसन्ता जिएम, ज्योतिकुमार चौधरी, नारायण चौधरी, निमराज चौधरी, सल्लाहकारहरु हिमबहादुर रोकाय क्षेत्री, रणप्रसाद सुवेदी र प्रेस सल्लाहकार सन्तोषकुमार गुप्ताको उपस्थिती रहेको थियो । बैठकको सहर्जीकरण संघका बरिष्ठ उपाध्यक्ष मदन पोख्रेलले गरेका थिए ।


