राप्तीमा महिला चेम्बरले हस्तकला तालिम सञ्चालन गर्ने
भालुवाङ ३१ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको महिला चेम्बरले हस्तकला तालिम सञ्चालन गर्ने भएको छ ।
शुक्रबार राप्ती गाउँपालिका-५ सिसहनियाँमा महिला चेम्बरकी अध्यक्ष मेनुका पाैडेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । राप्ती गाउँपालिका भित्रका गरिव, विपन्न, अपांगता तथा एकल महिलाहरूलाई लक्षित गरि महिलाहरूको सीप विकासका लागि कार्तिक २१ देखि २३ गते सम्म हस्तकला तालिम सञ्चालन गर्न लागेको हो । त्यस्तै बैठकले महिला चेम्बरको नियमित बैठक प्रत्येक महिनाको १६ गते विहान १० बजे आफ्नै कार्यालयमा बस्ने निर्णय समेत गरेको छ ।
बैठकमा राप्ती चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष नेमलाल शर्मा बेल्वासे, महासचिव खेमराज अर्याल, प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता, महिला चेम्बरकी प्रथम उपाध्यक्ष निर्मला थारू, सचिव सावित्री चाैधरी, कोषाध्यक्ष शान्ता खनाल लगायतको विशेष उपस्थिति रहेको थियो । बैठकको सहजीकरण सचिव सावित्री चाैधरीले गरेकी थिइन् ।
