राप्तीमा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि ६ वटा उपसमिति गठन
भालुवाङ ३० असोज । दाङको राप्ती गाउँपालिकामा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि ६ वटा विभिन्न उपसमिति गठन गरिएको छ । स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अद्यावधिक सम्बन्धी अभिमुखीकरण कार्यक्रम मार्फत सो उपसमितिहरु गठन गरिएको हो ।
सि.डि.एम. नेपालको आयोजना राप्ती गाउँपालिकाको समन्वय र युनिसेफको सहयोगमा बिहीबार सम्पन्न कार्यक्रममा स्थानीय तहमा विपद् व्यवस्थापन र जलवायु उत्थानशील योजनालाई प्रभावकारी बनाउन विभिन्न विषयमा छलफल समेत गरिएको थियो । छलफलपछि गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको संयोजकत्वमा विभिन्न क्षेत्रका प्रतिनिधिहरु रहने गरि ६ सदस्यीय विपद् व्यवस्थापन उपसमिति, स्वास्थ्य शाखा प्रमुख नारायण राउतको संयोजकत्वमा ५ सदस्यीय प्राथमिक उपचार समिति, वडा नं. १ का वडा अध्यक्ष गेमबहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय खोज तथा उद्धार समिति, वडा नं. ३ का वडा अध्यक्ष उमेश अधिकारीको संयोजकत्वमा ५ सदस्यीय राहत वितरण कार्यदल र सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङको संयोजकत्वमा ५ सदस्यीय पूर्वसूचना प्रणाली समिति गठन गरिएको छ ।
त्यस्तै छलफलले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना निर्माणका लागि कार्तिक १५ गतेदेखि ३० गतेसम्म पालिकाका नौवटै वडाबाट आवश्यक तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जलवायु, ऊर्जा, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी विषयमा जानकारी दिइँदै स्थानीय विपद् व्यवस्थापन समिति र सरोकारवालासँग योजना अद्यावधिकका विषयमा सुझाव संकलन गरिएको सि.डि.एम. नेपालका सूचना व्यवस्थापन अधिकृत विजयसिंह ठकुरीले जानकारी दिएका छन् । कार्यक्रममा गाउँपालिकाले विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि चालेका कदम र आगामी रणनीतिका विषयमा पनि विस्तृत छलफल गरिएको थियो । सो अवसरमा उपाध्यक्ष चौधरीले विपद् व्यवस्थापन र जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरूलाई सामना गर्न सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरी, पालिका स्तरीय विपद् व्यवस्थापन समितिका सदस्यहरू, युनिसेफ, रेडक्रसका प्रतिनिधि, पत्रकार तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गरेका थिए ।

