लिटिल एन्जल्स स्कुल राप्ती प्रालिलाई पहिलो अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार



लिटिल एन्जल्स स्कुल राप्ती प्रालिलाई पहिलो अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार

भालुवाङ ३० असाेज । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका–१ भालुवाङ दाङमा रहेको लिटिल एन्जल्स स्कुल राप्ती प्रालिलाई पहिलो अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार (एमर्जिंग स्कुल अवार्ड) प्राप्त भएको छ । लिटिल एन्जल्स स्कुललाई मंगलबार विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेशनद्वारा आयोजित मलेसियाको राजधानी कोलालाम्पुरको लिङकन युनिभर्सिटीबाट अवार्ड प्राप्त भएको हो ।

स्कुललाई उक्त अवार्ड लिनकन युनिभर्सिटी मलेशियाको सिईयो डा. मोहमद यूसोफ, प्रमुख डा. अमिया भूमिक, लगायत अन्य विभिन्न देशका शैक्षिक व्यक्तिहरुद्वारा प्रदान गरिएको थियो । २०६० सालमा स्थापना भएदेखि अतिरिक्त क्रियाकालाप, आधुनिक प्रबिधिको प्रयोग र सर्वोत्कृष्ट शैक्षिक गुणस्तर कायम गर्दै शिक्षा क्षेत्रको विकासमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको मूल्याङ्कन गर्दै उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको बताइएको छ । पूर्वी एसियाली देशहरुको भ्रमणमा रहेका स्कुलका प्रधानाध्यापक शोभाखर भुसालले स्कुललाई प्राप्त सर्वोत्कृष्ट शैक्षिक सम्मान तथा पुरस्कार (एमेर्जिंग स्कुल अवार्ड) ग्रहण गरेका थिए । कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, यूएसए, युके, इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गरिएको छ ।

अन्तराष्ट्रिय अवार्ड प्राप्त भएपछि स्कुलका प्रधानाध्यापक शोभाखर भुसालले खुसी व्यक्त गर्दै स्कुललाई अवार्डका लागि योग्य बनाउन स्थापना कालदेखि योगदान तथा सहयोग गर्ने स्कुलका सञ्चालकहरु, व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकलाई हार्दिक धन्यवाद दिँदै आगामी दिनमा जिल्लाको समग्र शैक्षिक गुणस्तरमा जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले आयोजकलाई पनि धन्यवाद दिएका थिए । उक्त अवार्ड ग्रहण गर्नका लागि विद्यालयका प्रधानाध्यापक शोभाखर भुसाल केही दिन अघि थाइल्यान्ड, सिंगापुर हुँदै मलेसिया गएका थिए । पछिल्लो समय लिटिल एन्जल्स स्कुलले पठनपाठनका साथै अतिरिक्त विभिन्न क्रियाकलापमा अब्बलता प्रस्तुत गरेपछि उक्त्त अवार्ड प्रदान गरिएको आयोजकको ठहर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे