शंकर सामुदायिक वनमा दोस्रो कार्यकालका लागि पुन मल्लकै नेतृत्वमा कार्यसमिति चयन
सिसहनियाँ २५ असोज । सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनको संरक्षणमा सवै उपभोक्ताहरू संवेदनशील भएर लाग्न आग्रह गरेका छन्।
शंकर सामुदायिक वन उपभोक्ता समूह राप्ती गाउँपालिका ८ पिपरीको शनिबार पिपरीमा भएको २७ औं वार्षिक साधारणसभा तथा १६ औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष भुसालले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष भुसालले वन विनास उपभोक्ताबाटै हुने भएकाले वनको संरक्षण गर्ने दायित्व पनि उपभोक्ताकै भएको बताए । त्यस्तै उनले उपभोक्ताहरूलाई वनको महत्त्व बारे बुझाउन आवश्यक रहेको समेत बताए।
समुहका अध्यक्ष तुलाध्वज मल्लको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सचिव सिता कुमारी चाैधरी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष इमानसिंह कार्कीले प्रस्तुत गरेका थिए । कार्यक्रममा समुहका लेखा संयोजक रामप्रसाद चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष इमानसिंह कार्कीले गरेका थिए । यसै बीच अधिवेशनले २१ सदस्य कार्यसमितिबाट घटाएर तुलाध्वज मल्लकै नेतृत्वमा पदाधिकारी यथावत राख्दै १५ सदस्य कार्यसमिति बनाउने निर्णय गरेकाे छ । जस अनुसार अध्यक्षमा तुलाध्वज मल्ल, उपाध्यक्षमा शान्ता चाैधरी, सचिवमा सिताकुमारी चाैधरी, कोषाध्यक्षमा इमानसिंह कार्की पुन दोस्रो कार्यकालका लागि दोहोरिएका छन् ।

