टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता, सुपर-६ मा २ अङ्क जोड्यो



टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता, सुपर-६ मा २ अङ्क जोड्यो

काठमाण्डौ २४ असाेज । जापानलाई ५ विकेटले हराउँदै नेपाल आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटमा समूह ‘बी को विजेता बनेको छ ।

जापानले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले १२ बलअघि ५ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले ३८, गुल्सन झाले नटआउट २८ रन बनाए । जापानका शोमा स्लाटरले २ विकेट लिए । यसअघि अलि अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायो । जापानका कप्तान केन्डल फ्लेमिङले सबैभन्दा धेरै ६० रन बनाए । नेपालका सन्दीप लामिछाने र गुल्सन झाले २/२ तथा साेमपाल कामी र नन्दन यादवले १/१ विकेट लिए ।

नेपाल र जापानले आफ्नो पहिलो खेलमा कुवेतलाई हराउँदै यसअघि नै सुपर–सिक्समा पुगिसकेका थिए । कुवेत भने समूह चरणबाटै बाहिरिइसकेको छ । समूह विजेता बन्दै सुपर-६ मा पुगेको नेपालले २ अङ्क जोडेको छ । अब नेपालले सुपर-६ मा आइतबार समूह ‘ए’ को विजेता यूएई र सोमवार उपविजेता कतारसँग खेल्नेछ । यस्तै बाँकी २ खेलमा समूह ‘सी’ को विजेता र उपविजेतासँग खेल्नेछ । सुपर–६ मा शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे